नेपाली सेनाको सहजीकरणमा हुन लागेको वार्तामा अभिभावकत्व लिइदिनका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जेनजी प्रतिनिधिहरूले आग्रह गर्ने भएका छन्।
यसअघि धेरै समूहमा बाँडिएका जेनजीको छलफलपछि सुशीला कार्कीलाई आग्रह गर्ने समझदारी बनेको हो। उनीहरूको भर्चुअल छलफलहरूमा सुशीला कार्कीहरूलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेका छन्।
भर्चुअल बैठकहरू विभिन्न समूहमा भइरहेको र ती छलफलमा सुशीला कार्कीबारे कुरा उठेको छ।
अहिलको परिस्थितिमा निष्ठावान, निर्भिक र सर्वस्वीकार्य व्यक्ति सुशीला कार्की नै हुने छलफलमा सहभागी जेनजीहरूले बताएका छन्।
सुशीला कार्कीले नमानेमात्रै वैकल्पिक नाममा जानुपर्ने उनीहरूको भनाइ छ।
गैरराजनीतिक, स्वतन्त्र र प्रभावशाली व्यक्तिको जसले राष्ट्रपति, प्रधानसेनापति र अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफलमा गर्न सक्ने व्यक्तिको हिसाबले कार्कीलाई रोजिएको भनिएको छ।
जेनजीहरूको समूहका ७ हजार ७१६ जनाले सामाजिक सञ्जालमै गरेको मतदानमा ५० प्रतिशतभन्दा धेरै सुशीला कार्कीको पक्षमा देखिएका छन्।





