काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा संलग्न युवापुस्तालाई शिवपुरीबाट सन्देश पठाएका छन् ।
शिवपुरीस्थित नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर उनले ‘प्रिय जेन-जी बाबुनानीहरू’ शीर्षकमा सम्बोधन गर्दै आफ्नो व्यक्तिगत पीडा, संघर्ष र व्यवस्थाबारेको फेहरिस्त लेखेका छन् ।
ओलीले आन्दोलनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफूले पनि जीवनमा सन्तान गुमाउने पीडा भोगेको उल्लेख गरेका छन् ।
‘व्यवस्था परिवर्तनको लडाइँमा सत्ताले दिएको यातनाका कारण मेरा आफ्नै सन्तान भएनन्, तर ‘बा’ बन्ने रहर कहिल्यै मरेन’, उनले लेखेका छन् ।
२०५१ सालमा गृहमन्त्री हुँदा आफ्नो कार्यकालमा राज्यतर्फबाट एउटा पनि गोली नचलेको स्मरण गराउँदै उनले आफू सधैं शान्तिको पक्षमा उभिएको दाबी गरे । तर, हालको आन्दोलनलाई तोडमोड गरेर विध्वंसात्मक गतिविधि गराउने गहिरो षड्यन्त्र भइरहेको आरोप पनि उनले लगाए ।
ओलीले भने, ‘देशका महत्त्वपूर्ण कार्यालयहरूमा आगजनी, कारागार तोडफोड यत्तिकै भएका होइनन्। तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको छ ।’
उनले आफूलाई ‘जिद्दी स्वभावको’ व्यक्ति बताउँदै लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको हो भन्ने अडानदेखि श्रीरामको जन्मभूमि नेपालमै भएको दाबीसम्मका विषयमा आफ्नो अडान सम्झाए । ‘यी जिद्दीमा म नहटेको भए अवसर धेरै पाउने थिएँ। तर मैले सम्पत्ति राज्यका नाममा दिएको छु, पद प्रतिष्ठा कहिल्यै मेरो लागि मुख्य थिएन’, उनले भनेका छन्।
ओलीले आफ्नो जीवनको मूल उद्देश्य लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु रहेको पनि दाबी गरेका छन् । ‘यो व्यवस्था – जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको ध्येय हो’, ओलीको दाबी छ ।
सोमबार सुरु भएको जेन-जी प्रदर्शनमा ओली नेतृत्वको सरकारले निर्मम दमन गर्दा र त्यसपछिको उग्र आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगिसकेको छ । सोमबार एकैदिन देशभर प्रहरीले गोली चलाउँदा १९ युवा मारिएका थिए ।
दोस्रो दिन मङ्गलबार जेन-जी प्रदर्शन नियन्त्रणबाहिर जाँदा खर्बौँ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति र मुलुकका महत्वपूर्ण निकायमा रहेका संवेदनशील कागजात जलेर नष्ट भएको छ ।
सोमबार बेलुकी नै नागरिक तहबाट ओलीको राजीनामा माग भए पनि उनले परिस्थितिलाई नजरअन्दाज गर्दा बुधबार राजीनामा गर्नुपरेको थियो । सिंहदरबार र बालुवाटार नै असुरक्षित हुने देखेपछि उनी राष्ट्रपतिलाई राजीनामा बुझाएर सेनाको हेलिकोप्टरबाट सुरक्षित स्थानतर्फ लागेका थिए ।
प्रिय जेन्जी बाबुनानीहरू,
आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्।
तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ। मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ। सायद तिमीहरूलाई थाहा छैन, व्यवस्था परिवर्तनको त्यो कठोर लडाइँमा, त्यो बेलाको सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन्। तर पनि, ‘बा’ बन्ने मेरो रहर कहिल्यै मरेन, कहिल्यै सेलाएन।
जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएका छन्। त्यो पीडाको घाउ आज पनि आलै छ। तैपनि, मैले सधैँ समाजमा शान्ति स्थापित हुनुपर्छ भन्ने मान्यता राखेँ। तिमीहरूलाई याद होला, २०५१ सालमा जब म गृहमन्त्री थिएँ, त्यो मेरो कार्यकालमा राज्यको तर्फबाट एउटा पनि गोली चलेन। म सधैँ शान्तिको पक्षमा उभिएँ, किनकि मैले आफ्नै जीवनमा हिंसाको क्रूरता भोगेको छु। त्यो दोस्रो दिनको आन्दोलन, जति विध्वंसात्मक भयो, मलाई विश्वास छ, तिमीहरूका कोमल हातहरूबाट त्यस्तो भएको होइन।
तिमीहरूको निर्दोष अनुहार देखाएर, तिमीहरूको भावनामाथि खेलेर गलत राजनीति गर्ने प्रयास भइरहेको छ। देशका महत्त्वपूर्ण रेकर्ड भएका कार्यालयहरूमा आगजनी गर्ने, कारागारबाट कैदीहरू छोड्ने जस्ता गतिविधिहरू यत्तिकै भएका होइनन्। यी सबै पछाडि गहिरो षड्यन्त्र लुकेको छ। यो व्यवस्था, जुन हामीले अनगिन्ती दुःख र बलिदानबाट ल्याएका हौँ, त्यो बेला हामी बोल्न पाउँदैनथियौँ, भेला जम्मा हुने छुट थिएन, प्रश्न गर्न पाइँदैनथियो। अन्धकारमय त्यो अवस्थासँग लडेर, संघर्ष गरेर हामीले यो उज्यालो व्यवस्था ल्यायौँ। आज तिमीहरूले आफ्नो आवाज उठाउन पाएका छौ, आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो। आज यो व्यवस्थाको नै कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा तिमीहरू संवेदनशील हुन जरुरी छ।
नानिबाबुहरू, स्वभावले म अलि जिद्दी छु। यो जिद्दीपन नभएको भए सायद यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ होला। हाम्रो देशमा व्यापार गर्ने सामाजिक सञ्जालले यहाँको नियम मान्नुपर्छ र सूचीकरण हुनुपर्छ भनेर मैले जिद्दी नै गरेको हुँ। लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ। शास्त्रहरूमा उल्लेख भएअनुसार भगवान् श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी नै गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले अरू थुप्रै अवसरहरू पाउने थिएँ, थुप्रै कुरा हासिल गर्ने थिएँ। लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघ (UN) मा नपठाएको भए या अरूले मलाई चलाउन चाहेअनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने थियो।
तर, मैले त आफूसँग भएको सबै सम्पत्ति राज्यका नाममा गरिदिएको छु। मेरो लागि पद, प्रतिष्ठा कहिल्यै महत्त्वपूर्ण रहेन। पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो। यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु। – तिमीहरूको केपी शर्मा ओली, शिवपुरी





