त्यो बिहान आज पनि मेरो मनमा ताजै छ।
गाउँको चहलपहलबाट टाढा, म पहिलो पटक प्रदेशको ठुलो अस्पतालमा पुगेको थिएँ। वरिपरि अपरिचित अनुहार, चिसो भित्ताहरू र औषधिको गन्धले मलाई झन् पराई बनाइरहेका थिए। न त कोही चिन्ने मान्छे, न त मायालु आमा बुबाको हात, केवल अनजान भिडभाड र औपचारिक मुस्कान।
बेडमा पल्टिनासाथ नर्स हातमा ठुलो ट्रे बोकेर आइन्। त्यहाँ धेरै सिरिन्जहरू, बोतलहरू, कपास र औषधि देख्दा मेरो मुटु नै काँप्यो। उनले शान्त स्वरमा भनिन्,
“आज तपाईँको शरीरभरि परीक्षणका लागि धेरै रगत निकाल्नुपर्छ, नडराउनु।”
तर डर कसरी नहोस्?
सुई छालामा छिर्दै गर्दा त्यो चसक्क पीडा नसामा मात्र हैन, मनमै छिर्यो। बोतलमा रगत बगिरहेको देख्दा लाग्थ्यो मेरो जीवनकै बल, साहस र धैर्य पनि बिस्तारै निस्कँदै छ। हरेक थोपा रगतसँगै आँखा रसाइरहेको थियो, तर म मौन बसिरहेँ।
त्यो दिन यति धेरै रगत निकालियो कि शरीर नै कमजोर भएर खाली जस्तो महसुस भयो। हात भारी, टाउको हल्का र मनमा केवल एकोहोरो पीडा। “यो दिन म कहिल्यै बिर्सन सक्दिन,” म मनमनै दोहोराइरहेको थिएँ।
रात अझै कठोर थियो। बत्ती सधैँ बलिरहेको, वरिपरिका बिरामीहरूको करुण आवाज र घरको मायालु स्पर्श नपाउनु सबैले मलाई भित्रैदेखि चिर्दै थियो। आमा भए भने स्याहार गर्थिन्, “छिट्टै ठिक हुन्छस्” भन्दै काखमा राख्थिन्। तर यहाँ, त्यो न्यानोपन कतै थिएन।
अन्ततः रिपोर्ट आयो। डाक्टर मुस्कुराउँदै बोले,
“चिन्ता नगर, सबै ठिक छ।” तलाइ ठिक बनाएर पठाउने हाम्रो कर्तव्य हो भनेर डक्टरले भन्यो । त्यो बेला मन यत्ति खुसी भयोकी त्यसको बयान गर्न म अहिले सक्दैन ।
त्यो मुस्कानले अलिकति राहत त दियो तर शरीरभरि भएको रगत निकालिएको त्यो पीडादायी दिन अझै पनि मेरो आत्मामा अंकित छ।
हो, जीवनले मलाई त्यही दिन एउटा ठुलो सत्य सिकायो
“पीडा भुलिँदैन तर पीडाले नै जीवनलाई बुझ्न र सहनको साहस दिन्छ।”
रिपोर्ट आउँदासम्म अस्पतालमै बसेर मैले आफैँसँग प्रश्न गरे “कति सजिलो छ, आफ्नै भूमिमा बिरामी पर्नु, जहाँ परिवार हुन्छ। तर यहाँ विदेशी भूमिमा बिरामी हुनु भनेको पीडाको अर्को नाम रहेछ।”
मेरो आँखाको आँसु रोक्यो। मैले महसुस गरे शरीरको पीडा त औषधिले निको पार्छ होला तर परदेशमा बिरामी हुँदा मनको पीडा भने केवल घरको माया र परिवारको साथले मात्र निको पार्न सकिँदो रहेछ ।
र औषधिको गन्धले भरिएको यो कोठा मलाई दिनरात सम्झाउँछ, कति असहाय हुँ म अहिले। हातभरि सुई, शरीरभरि तारहरू बाँधिएको छ। शरीरले सघाउँदैन मन भने अझै सङ्घर्ष गर्दै छ बाँच्ने आशासँग।
बाहिर बाटोमा हाँसिरहेका मानिसहरूको आवाज सुनिन्छ तर यहाँ भित्र त केवल कराह, मौनता र पीडा मात्र। कहिलेकाहीँ नर्सको मधुरो स्वर सुनिन्छ, “ठिक छ, धैर्य गर्नुहोस्” भनेर। त्यो शब्दले केही क्षणलाई भए पनि सान्त्वना दिन्छ।
आँखा बन्द गर्दा घर सम्झिन्छु, परिवार सम्झिन्छु। आमा–बुबाको अनुहार, श्रीमती र स्यानो बाबु साथीहरूको हाँसो, बाल्यकालको खेल… तर फेरि आँखा खोल्दा सामुन्ने म संघ बिरामी भएर ब्याडमा पल्टेका बिरामी मात्र देख्छु।
तर दिन प्रतिदिनको उपचारसँगै शरीरमा सानो सुधार महसुस हुन्छ। पहिले जस्तो असहाय लाग्ने हात अब अलि चल्छ, मुटुमा नयाँ साहस जगाउन थाल्छ। डाक्टरको मुस्कान, नर्सको हौसला र परिवारको प्रार्थनाले मलाई फेरि जीवनतर्फ तान्दै लग्छ।
अस्पतालको यो बेड मेरो जीवनको सबैभन्दा लामो पाठशाला जस्तै भयो। यहाँ मैले सिकेँ स्वास्थ्यभन्दा ठुलो सम्पत्ति अरू केही छैन। पीडा त जीवनको एउटा अध्याय हो, तर त्यो अध्यायपछि आशा र नयाँ सुरुवात पनि हुन्छ ।
- आशिष माल हाल रोजगारीको सिलसिलामा युरोपको (🇪🇺पोल्यान्ड 🇵🇱)







You must be logged in to post a comment.