धनगढी : कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको नेतृत्व पुष्करराज ओझाले गरेका छन्। शनिबार सम्पन्न निर्वाचनमा ओझाले अध्यक्ष पदका प्रतिद्वन्द्वी रुपेश स्वाँरलाई ६१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
संघको नयाँ कार्यसमितिमा ओझा नेतृत्वको प्यानलले सशक्त उपस्थिति जनाउँदै तीन उपाध्यक्ष र एक महासचिव पद जितेको छ। स्वाँर प्यानलले दुई उपाध्यक्ष, एक सचिव र कोषाध्यक्ष पदमा जित हात पारेको छ।
वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भए भने उनले ओझा प्यानलका ओम बिष्टलाई पराजित गरे। उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त निर्वाचित भए।
त्यस्तै, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, र वस्तुगत उपाध्यक्षमा भीमराज ओझा (अब्बु) विजयी भएका छन्।
महासचिवमा ओझा प्यानलका दिनेश लम्सालले सुरेश पाण्डेलाई हराउँदै जित हासिल गरे। स्वाँर प्यानलका तिलकबहादुर बोहरा कोषाध्यक्ष र प्रकाशकुमार चन्द सचिव पदमा विजयी भएका छन्।
सदस्यतर्फ १३ जना विजयी भएका छन्, शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक।
शनिबार सम्पन्न निर्वाचनमा कुल २,३३५ मतदाता मध्ये १,९४० जनाले मतदान गरेका थिए। नौ पदाधिकारी र १३ सदस्य गरी २२ पदका लागि भएको यो निर्वाचनमा ५० जनाले उम्मेदवारी दिएका थिए।








You must be logged in to post a comment.