धनगढी : धनगढीको छठिघाट आज आस्था र श्रद्धाको रंगमा रङ्गिएको छ। विगत २१ वर्षदेखि यही घाटमा निरन्तर रूपमा छठ पूजा सम्पन्न हुँदै आएको छ। यस वर्ष पनि श्रद्धालुहरूले सूर्य भगवान् प्रति कृतज्ञता र आराधना व्यक्त गर्दै भव्य तयारी गरेका छन्।
छठ पूजा सेवा समितिका सचिव सरोज कुमार यादवका अनुसार यस वर्ष कुल २७० वटा स्टलहरू निर्माण गरिएको छ। उनले भक्तजनहरूलाई अनुशासन, सरसफाइ र सुरक्षाको ध्यान राख्दै शान्तिपूर्ण रूपमा पूजा–अर्चनामा सहभागी हुन आग्रह गरेका छन्।

यस्तै, समितिका अध्यक्ष सन्तोष मण्डलले करिब २५ सय श्रद्धालुहरूले व्रत बसेका जानकारी दिए। तीमध्ये मिथिला समुदायका करिब ६० प्रतिशत र अन्य समुदायका ४० प्रतिशत व्रत बस्तीहरूले सूर्योपासना गर्ने तयारी गरेका छन्।
सूर्य भगवान् प्रति कृतज्ञता र परिवारको दीर्घायु तथा समृद्धिको कामना गर्दै मनाइने छठ पर्व नेपाली समाजमा शुद्धता, अनुशासन र आस्थाको प्रतीक मानिन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तजनहरूले आत्म–शुद्धि र धन्यवाद प्रकट गर्ने यो पर्व धार्मिक एकता र सामाजिक सद्भावको सन्देश पनि दिन्छ।

साँझपख अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी यस वर्षको छठ पर्व सम्पन्न गरिने कार्यक्रम रहेको छठ पूजा सेवा समितिले जनाएको छ।

#छठपर्व | #धनगढी






You must be logged in to post a comment.