पवित्रता भित्रको पाप
मलाई कसैले कहिल्यै नामले बोलाउँदैन।
तिमीहरूका मुखमा म कहिले “रातको मान्छे” हुन्छु,
कहिले “पापिनी”।
तर म पनि कहिल्यै नाम खोज्दिनँ
किनकि नामले के बदलिन्छ र?
मेरो जीवन त पहिल्यै मूल्यमा तोलिएको छ।
म बधिनी हुँ
तर म पनि समाजकै एक हिस्सा हुँ,
जहाँ पुरुषहरूका गोप्य चाहना मभित्र विश्राम गर्छन्,
र बिहान फेरि समाजमा पवित्रको वेशमा हिँड्छन्।
म ती चाहनाहरूलाई मौन बनाउँछु,
ताकि समाजमा शान्ति रहोस्,
ताकि कसैको घर भत्किएला भनेर कुनै आँसु नखसून्।
यो पनि त मेरो योगदान हो, होइन?
कसैले भन्दैन,
तर म समाजको असन्तुलन सम्हाल्ने अदृश्य हात हुँ।
म ती वासनाहरूलाई भित्रै समेटेर
शहरलाई बाहिरबाट शान्त देखाउँछु।
म बोल्दिनँ
तर मेरो मौनता नै शहरको स्थिरता हो।
र पवित्रता?
त्यो त मभित्र नै छ
किनकि म शरीर बेचेर पनि आत्मा जोगाएकी छु।
म दया गर्छु, म हाँस्छु, म माफी दिन्छु
जुन कुरा समाजका धेरै “पवित्र” मानिसले गर्न सक्दैनन्।
म बधिनी हुँ,
तर मेरो आत्मा कुनै शय्यामा बन्द छैन।
त्यो त अझै स्वतन्त्र छ,
शब्दको, आँसुको, र आफ्नो पहिचानको यात्रामा।
शब्द शृजना : कृष्ण पुजारा





