काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलनमार्फत मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो।
एनपीएल पहिलो पटक फ्लडलाइटमुनि हुनेछ। पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे-नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए।
एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै १ करोड १० लाख कायम राखिएको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।
उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो। यस सिजन पनि यी स्थानमा रहनेले यही अनुपातमा पुरस्कार पाउनेछन्।
एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्। एनपीएलको उद्घाटन खेलमा मंसिर १ गते जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन्। खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ।
साथै क्यानका सचिव पारस खड्काका अनुसार, सिजन-२ मा स्पोन्सर, टोली, टिकट तथा अन्य माध्यमबाट कुल ३५ करोड रुपैयाँभन्दा बढी उठ्ने अपेक्षा गरिएको छ । स्पोन्सरबाट करिब १५ करोड ३० लाख, आठ टोलीबाट ९ करोड, र टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ जुट्ने अनुमान गरिएको छ ।






