धनगढी: धनगढीलाई सफा, हरियो, उज्यालो र सुरक्षित शहरको रूपमा विकसित गर्ने उद्देश्यसहित ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियन्तर्गत आज भव्य साइकल र्याली सम्पन्न गरिएको छ।
जनस्तरमा सरसफाइप्रति थप प्रभावकारी जागरण फैलाउने लक्ष्यसहित धनगढी उपमहानगरपालिकाले आयोजना गरेको र्यालीमा स्थानीयदेखि जनप्रतिनिधि, विद्यार्थी, स्वयंसेवक तथा कर्मचारी गरी करिब दुई सय जनाको सहभागिता थियो।
धनगढी चौराहाबाट सुरु भएको र्याली क्याम्पस रोड हुँदै पार्कमोडमा पुगेर सम्पन्न भयो। सहभागीहरूले हातमा सरसफाइसम्बन्धी सन्देशयुक्त प्लेकार्ड बोकेर सहर सफा राख्न जनचेतना फैलाए।
पछिल्ला वर्षमा उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ‘सफा र हरियाली धनगढी’ कार्यक्रमले सहरको दृश्यात्मक तथा भौतिक स्वरूपमा उल्लेखनीय सुधार देखिए पनि अझै जनतास्तरमा सचेतना विस्तार आवश्यक रहेको भन्दै यस्तो र्यालीको आवश्यकता देखाइएको हो।





