धनगढी: राजपुर स्पोर्ट्स क्लबले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुपर ७ भेट्रान क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबका अनुसार प्रतियोगिता मंसिर १९ गतेदेखि सुरु हुने छ।
प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी पूरा भइसकेको क्लबले जनाएको छ। खेल ६ ओभरको हुने छ भने प्रत्येक टोलीमा १० जना खेलाडी रहनेछन्। १० खेलाडी मध्ये ७ खेलाडीले मैदानमा खेल्न पाउने छन् । ती ७ खेलाडी मध्ये ६ खेलाडीले बाउलिङ गर्न पाउने छन् भने विकेट कीपरले वाउलिङ गर्न पाउने छैन।
निर्धारित नियमअनुसार वाइड र नो–बलमा २ रन जोडिने छ। ब्याटरले १० रन पुर्याएपछि रिटायर आउट हुनु पर्ने छ तर, टोलीको अन्तिम विकेट बाँकी रहँदा पुनः ब्याटिङ गर्ने मौका प्रदान गरिनेछ। सब्स्टिट्यूट खेलाडीहरूलाई ब्याटिङ र बलिङ दुवैमा अनुमति नहुने क्लबले जनाएको छ।
खेल टाइ भएमा सुपर ओभर मार्फत नतिजा निकालिनेछ। खेल सम्बन्धी अन्तिम निर्णय अम्पायरको अधिकार क्षेत्रमा रहने आयोजकले स्पष्ट पारेको छ।
प्रतियोगिता सफल बनाउन सबैको सहयोग र सहभागिता अपेक्षा गरिएको क्लबले जनाएको छ।







You must be logged in to post a comment.