धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आउने निर्वाचनमा राजनीतिक दल र उम्मेदवारसँग सुदूरपश्चिमको गरिबी घटाउने स्पष्ट रोडम्याप माग्न सुदूरपश्चिमबासीलाई आग्रह गरेका छन् । सुदूरपश्चिमको मौलिक पर्व पुसे पच्ध्र तथा तमु ल्होसारको अवसरमा शुभकामना दिँदै नगर प्रमुख हमालले सो आग्रह गरेका हुन् ।
नगर प्रमुख हमालले मंगलबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै सुदूरपश्चिममा गरिबीको अवस्था झनै गम्भीर बन्दै गएको उल्लेख गर्दै योजनाबिना हुने राजनीतिक बहस अर्थहीन हुने भन्दै घरदैलोमा पुग्ने नेता र दलसँग गरिबी घटाउने रोडम्याप माग्न आम सुदूरपश्चिमबासीलाई अनुरोध गरेका छन् ।
जारी भिडियो सन्देशमा नगर प्रमुख हमालले राजनीतिक परिवर्तन धेरै भए पनि सुदूरपश्चिमको विकासको गति अझै दयनीय रहेको बताएका छन् । कर्णाली प्रदेशको उदाहरण दिँदै उनले सन् २०१९ को तथ्यांकअनुसार सबैभन्दा बढी गरिबीको रेखामुनी कर्णाली प्रदेश थियो भने पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी गरिबीको रेखामुनि सुदूरपश्चिम रहेको उल्लेख गरेका छन् ।
‘सन् २०१९ को तथ्यांकनुसार कर्णाली प्रदेश ३९.५० प्रतिशत गरिबी रेखामुनि थियो र अहिले घटेर २६.६९ प्रतिशतमा छ,’ नगर प्रमुख हमालले भने, ‘तर सुदूरपश्चिम प्रदेशमा सन् २०१९ को तथ्यांकअनुसार गरिबी २५.३० प्रतिशत थियो भने अहिले झन् बढेर ३४.१६ प्रतिशत पुगेको छ । अब आम सुदूरपश्चिमवासीले नेतृत्वमा जान घरदैलो सम्म आउने व्यक्तिलाई सुदूरपश्चिमको गरिबी हटाउन योजना एवम् रोडम्याप मागेर मात्र विवेक प्रयोग गर्न हुन अनुरोध गर्दछु ।’
उनले चुनावको बेला नेताहरूले दिने आश्वासनभन्दा ठोस योजना महत्वपूर्ण हुने बताए । अब मतदाताले सुदूरपश्चिमको गरिबी कसरी घट्छ भन्ने प्रश्न सोध्नैपर्ने समय आएको उनले उल्लेख गरे । गरिबी घटाउने स्पष्ट योजना, अध्ययन र कार्ययोजना भएको उम्मेदवार मात्रै छनोट गर्न उनले सम्पूर्ण सुदूरपश्चिमवासीलाई आग्रह गरेका छन् ।






