धनगढी । मदिरा व्यवसायी संघ कैलालीको छैटौँ वार्षिक साधारण सभा पुस १९ गते शनिवार धनगढी स्थित ॐ प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।
संघका अध्यक्ष प्रेम बहादुर धामीको सभापतित्वमा सम्पन्न साधारण सभामा नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा मदिरा व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष लबदेव भट्ट, महासंघका केन्द्रीय सदस्य पुष्कर राज भाट र मिलन ढकाल, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, विभिन्न वस्तुगत संघका प्रतिनिधि, पत्रकार तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन महासचिव कमल बमले गरेका थिए । साधारण सभामा संघको आर्थिक वर्ष २०८१–०८२ को आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। सभाले कोषाध्यक्ष काली प्रसाद जोशी द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

मदिरा व्यवसायी संघ कैलालीले आफ्नो छैटौँ वार्षिक साधारण सभाको शुभ अवसरमा सुदूरपश्चिमका सर्वाधिक रक्तदाता (१११ पटक) दीपक उपाध्याय नेपाल,

धनगढी-१३ कैलाली गाउँ निवासी थारु समुदायमै पहिलो महिला पाइलट बन्न सफल टीका चौधरी, उत्कृष्ट डिष्ट्रीब्युसन म्यानेजर फुलाराम चौधरी र कम्पनी प्रतिनिधिका रूपमा उत्कृष्ट कार्य गर्दै मदिरा व्यवसायी संघलाई साथ र सहयोग गर्ने शशी डिस्टिलरीका सु.प प्रदेश एरिया सेल्स म्यानेजर जनक राज अवस्थी गरी चारै जनालाई सम्मान पत्र साथै नगद रु ५,००० प्रदान गरेको थियो ।

सोही अवसरमा आगलागीमा परी क्षति व्यहोरेको निशा ट्रेडर्स एण्ड सप्लायर्स गेटाका सञ्चालक मिना देउवालाई नेपाल मदिरा व्यवसायी महासंघका तर्फबाट एक लाख र मदिरा व्यवसायी संघ कैलालीका तर्फबाट पच्चिस हजार गरी रु १ लाख २५ हजार रुपैयाँ सहयोग स्वरूप महासंघका अध्यक्ष सोनाम शेर्पा र संघका अध्यक्ष प्रेम ब. धामीले संयुक्त रूपमा राहत रकम समेत हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले कैलालीका मदिरा व्यवसायीहरू लाई निर्धक्क भएर काम गर्न अपिल गरेका छन् । ‘महासंघ तपाईँहरूको साथमा छ । गलत नगरी ढुक्क भई व्यापार गर्नुस् । कुनै कम्पनी सँग डराउन जरुरी छैन । गलत मनसाय राख्ने कुनै पनि व्यक्ति वा संस्था सँग नझुक्नु होला ।’ उनले भने ।
समापन मन्तव्य दिँदै अध्यक्ष धामीले आफ्नो कार्यकालमा संघलाई व्यवस्थित, उत्तरदायी र सक्रिय बनाउने लक्ष्यसहित महत्त्वपूर्ण कामहरू सम्पन्न गरिएको बताए।

उनले यस वर्ष १० वटा नयाँ मदिरा ब्रान्ड सफलतापूर्वक लन्च गरिएको, संघमा आबद्ध प्रत्येक सदस्यका लागि एक लाख रुपैयाँ बराबरको दुर्घटना बिमा व्यवस्था गरिएको, डिजिटल सदस्य विवरण प्रणाली सुरु गरिएको तथा अवैध र म्याद गुज्रेका सामग्री नियन्त्रणमा पहल गरिएको उल्लेख गरे।

त्यसै गरी स्थानीय तह, आन्तरिक राजस्व कार्यालय र विभिन्न कम्पनीहरूसँग समन्वय गर्दै व्यावसायिक समस्या समाधान, कर तथा कानुनी विषयमा सहकार्य गरिएको उनले बताए। सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्य, छलफल तथा आपत्कालीन सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको पनि अध्यक्ष धामीको भनाइ थियो।
अध्यक्ष धामीले संघलाई सशक्त बनाउन योगदान गर्ने पदाधिकारी, सदस्य, सल्लाहकार, सरोकारवाला निकाय तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सदस्यहरूको हित, व्यावसायिक सुरक्षा, पारदर्शिता र अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै अध्यक्ष धामीले सबै सहभागीप्रति धन्यवाद ज्ञापन गरेका थिए।













You must be logged in to post a comment.