धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा साहारा युवा क्लब पहलमानपुर लगातार दोश्रो जीत निकाल्दै सेमिफाइनल प्रवेश गरको छ । पहिलो खेलमा हरीयाली युवा क्लब जोशीपुरलाई टाइब्रेकरमा ४ – २ गोल अन्तरले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुवात गरेको साहाराले आज दोश्रो खेलमा विनिता स्मृति युवा क्लब मोहन्याललाई ९ – ० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको टिकट पक्का गरेको हो ।
पहिलो हाफमा ३ गोलले अग्रता बनाएको साहारा युवा क्लब पहलमानपुरले दोश्रो हाफमा थप ६ गोल गर्न पुग्यो । साहाराकाका लागि ह्याट्रिक सहित ५ गोल गरको विकास मल्ल म्यान अफ दी म्याच चुनिए । खेलको पहिलो मिनेटमै गोल गरेका विकासले दोश्रो हाफको ४९,६७,६९ र ७२औं मिनेटमा गोल गरे । त्यसैगरी कप्तान खगेन्द्र बोहराले २४ र ५२औं मिनेटमा गरी दुई गोल गरेभने लक्ष्मण कामी र गोविन्द न्यौपानेले समान एक एक गोल गरे ।
कैलाली जिल्ला फुटबल संघले आयोजना गरेको पहिलो आधिकारिक प्रतियोगीतामा सहभागी भएको विनिता स्मृति युवा क्लब मोहन्यालले भने सम्झनलायक प्रर्दशन गर्न सकेन । उसका लागि कुनैपनि खेलाडी गोल गर्न सफल भएनन ।
साहारा युवा क्लब पहलमानपुरले अब दोश्रो सेमिफाइनलमा विहिबार गौरीगंगा ११ स्पोटर्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने पहिलो सेमिफाइनलमा बिहान ११ बजे संघर्ष युवा क्लब गोदावरीका विरुद्ध बागमारा स्पोटर्स क्लब लम्की भिड्नेछ ।
कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी छन्।
पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।
साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए ।















