मधेश इलिटले जितसहित नवौं लिटिल फ्लावर प्राइड लिग समाप्त गरेको छ। शुक्रबार सम्पन्न खेलमा मधेशले धनगढी रोयल्सलाई ५१ रनले पराजित गरेको हो। योसँगै मधेशले सान्त्वना जित हात पारेको छ।मधेशले दिएको १४४ रनको लक्ष्य पछ्याएको धनगढीले निर्धारित ११ ओभरमा तीन विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो।
धनगढीका लक्ष्मण साउँदले अविजित रहँदै सर्वाधिक ३३ रन बनाए। १८ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे। सन्दीप बाजी र प्रिंकाल चन्दले समान १६ रनको योगदान दिँदा कैलाश भुल १८ रनमा अविजित रहे।मधेशका रुपेश यादव, साहिल कुमार र अफुरुदिन रिनले समान एक विकेट लिए।

त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेशले निर्धारित ११ ओभरमा ६ विकेट गुमाउँदै १४३ रन बनायो।मधेशका राजेन्द्र बलले सर्वाधिक २८ रन बनाए। १५ बल खेलेका उनले समान २ चौका छक्का प्रहार गरे।सुशान्त सिंह २७, साहिलकुमार २१ र रुपेश यादव २० रनमा आउट भए। धनगढीका सन्दीप कार्कीले सर्वाधिक २ विकेट लिए।
आजै सम्पन्न दोश्रो खेलमा खप्तड इण्डोर क्रिकेट सेण्टरलाई ४ विकेटले पराजित गर्दै घोडाघोडी क्रिकेट एकेडेमीले प्रतियोगीतामा सुखद सुरुवात गरेको छ । खप्तड इण्डोरले दिएको १३२ रनको लक्ष्य घोडाघोडीले १९।१ ओभरमा ६ विकेट गसमाउँदै पूरा गर्यो । घोडाघोडी क्रिकेट एकेडेमीका लागि संदिप विष्टले सर्वाधिक ४७ रनको पारी खेले । डबल ऐरले ३५ रनको अविजित परिपक्व पारी खेले । ३३ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । डबल म्यान अफ दी म्याच पनि चुनिदै नगद रु १००० जित्न सफल भए । खप्तड इण्डोरका लागी आर्यन बिस्टले २ विकेट लिए भने नगेन्द्र उपाध्याय,जेरी चन्द र सन्देश बस्यालले समान एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको खप्तड इण्डोर क्रिकेट सेण्टर १९।४ ओभरमा अलआउट हुँदै १३१ रन जोड्न सफल भयो । उसका लागी इसान दौल्यालले सर्वाधिक ३८ रन बनाए भने आयुष चन्दले २६ रन बनाए । घोडाघोडी क्रिकेट एकेडेमीका लागि सुधांशु रावल र डबल ऐरले समान तीन तीन विकेट लिए भने संदिप बिस्ट र भुवन ढकालले समान एक एक विकेट लिन सफल भए । प्रतियोगीतामा भोली लिग चरणको अन्तिम खेल घोडाघोडी क्रिकेट एकेडेमीका विरुद्ध सुदूरपश्चिमाञ्चल कलेज खेल्नेछ । सेमिफाइनलका दुवै खेल माघ ४ गते हुनेछन भने ५ गते उपाधि भिडन्त हुनेछ ।

प्रतियोगीताको विजेता टोलीले नगद ६०,०००,आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३०,००० प्राप्त गर्नेछ । प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडीले नगद ४,०००,उदयमान खेलाडी,उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले समान दुई ÷ दुई हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १००० प्राप्त गर्ने लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्टस प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
















You must be logged in to post a comment.