बैतडी : हिमपातपछि बैतडीका उच्च पहाडी क्षेत्रका किसानहरू आलु रोपाइँमा सक्रिय बनेका छन्।
जिल्लाका श्रीभावर, ढोल्यामोड, बचपानी, भञ्ज्याङ, मोतिनगर र खोड्पे लगायतका उच्च भेगमा माघ ९ र १३ गते परेको हिमपातले माटोमा पर्याप्त चिस्यान कायम भएको छ। यसले यस वर्ष आलु उत्पादन राम्रो हुने अपेक्षा बढाएको छ।
लगातारको हिमपातपछि खेतबारीमा आवश्यक चिस्यान कायम भएकाले हाल ती क्षेत्रका किसानहरू आलु रोपाइँमा व्यस्त छन्।
सिगास गाउँपालिका–९ का भानबहादुर चन्दका अनुसार अन्य खेतीले वर्षभरि खान नपुग्ने भए पनि आलु खेती राम्रो फल्यो भने उपभोगसँगै बिक्रीबाट पनि आम्दानी हुने गर्दछ। “बजार मूल्य राम्रो भएमा आलु प्रतिकिलो ३५ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ,” उहाँले बताउनुभयो।
त्यस्तै पुर्चौडी नगरपालिका–६ का किसान हरिभान साउद भन्छन्, “एक क्विन्टल आलुको बिउ रोप्दा १२ देखि १८ क्विन्टलसम्म उत्पादन हुन्छ। त्यसैले पछिल्लो समय हामी आलु खेतीलाई प्राथमिकतामा राख्न थालेका छौँ।”
हिउँदे बालीमा गहुँ र जौको तुलनामा आलु खेतीबाट राम्रो आम्दानी हुने भएकाले बैतडीका उच्च पहाडी किसानहरू यसैमा आत्मनिर्भर बन्दै गएको सिगास गाउँपालिका–९ का वडा सदस्य चन्द्रबहादुर चन्दले जानकारी दिनुभयो।





