पुर्चौडी बस दुर्घटना अपडेट: ८ मृतकको पहिचान खुल्यो

पुर्चौडिमा जन्ती सवार बस दुर्घटना
प्रकाशित : :

बैतडी: बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर बझाङतर्फ फर्किरहेको जन्ती बोकेको बस पुर्चौडी नगरपालिका–७ स्थित बढ्गाउँ मोडमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। पवनदुत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये केहीको घटनास्थलमै र केहीको उपचारको क्रममा मृत्यु भएको पुष्टि गरिएको छ। मृतकहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ बस्ने ४० वर्षका केशब राज जोशी, १३ वर्षका अशोक राज जोशी, ३५ वर्षका बसन्त जोशी, ४१ वर्षका विष्णु दत्त जोशी, ४२ वर्षका नरेश राज जोशी, बझाङ केदारस्यु गाउँपालिका बस्ने ६० वर्षका मोहन देव भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ बस्ने ४० वर्षका बसन्त राज रतला र बैतडी पुर्चौडी नगरपालिका–७ बस्ने ४० वर्षीया पुष्पा अवस्थी रहेका छन्।

घाइतेको उद्धार गरी उपचारका लागि कोटिला स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ। हाल ३२ जना घाइते कोटिला स्वास्थ्य चौकीमा उपचाररत छन्, जसमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली खटिएको थियो भने पाटनबाट सशस्त्र प्रहरीका डिएसपी शंकर धामीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। स्थानीयवासीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको छ। बस गहिरो खोंचमा खसेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट