धनगढी : क्रिकेटको सहर धनगढीबाट धनगढी क्रिकेट एकेडेमी (डीसीए) को अन्डर–१६ टोली भारतको मुम्बई भ्रमणमा निस्किएको छ। विश्वकपको प्रत्यक्ष अवलोकन र उच्चस्तरीय अभ्यास खेलमार्फत अनुभव बटुल्ने उद्देश्यसहित टोली शुक्रबार मुम्बईका लागि प्रस्थान गरेको हो।

भ्रमणअघि बिहीबार धनगढीस्थित एसपीए कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा टोलीलाई औपचारिक विदाइ तथा शुभकामना प्रदान गरिनुका साथै सयौं विद्यार्थीहरु र प्राध्यापक एवं क्रिकेट प्रेमीहरु का माझ उक्त टोलिको आधिकारिक जर्सि समेत सार्वजनिक गरिएको थियो । भने सो अवसरमा धनगढी उपमहानगरपालिकाले पनि ४ जना खेलाडीलाई विदाइ गर्दै सफल यात्राको कामना गरेको छ।

मुम्बई टुरका क्रममा डीसीए अन्डर–१६ टोलीले भारतका विभिन्न ६ वटा स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्नेछ। यस्ता प्रतिस्पर्धाले युवा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव दिलाउने अपेक्षा गरिएको छ।

यससँगै टोलीले मुम्बईको ऐतिहासिक वाङ्खडे स्टेडियममा आयोजना हुने नेपालसहित विभिन्न देशबीचका टि–२० विश्वकप खेलहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर पनि पाउनेछ। ग्रासरूट स्तरका खेलाडीहरूका लागि यो यात्रा केवल भ्रमण मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेटलाई नजिकबाट बुझ्ने र सपना साकार बनाउने प्रेरणादायी अवसरका रूपमा लिइएको छ।

मुम्बई टुरका सहयोगी संस्था निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थ पन्तले धनगढी क्रिकेट एकेडेमीले सुदूरपश्चिम, विशेषगरी धनगढीको क्रिकेट विकासमा उल्लेखनीय योगदान दिँदै आएको बताए।
“डीसीएले क्रिकेट क्षेत्रमा गरिरहेको निरन्तर प्रयास प्रशंसनीय छ। खेलकुद विकासका लागि हाम्रो सहयोग भविष्यमा पनि जारी रहनेछ,” पन्तले भने।

डीसीएका अध्यक्ष सुवास शाहीले विश्वकप खेलिरहेका खेलाडीहरूलाई प्रत्यक्ष रूपमा देख्न पाउनु नयाँ पुस्ताका खेलाडीहरूका लागि ठूलो प्रेरणा हुने उल्लेख गरे। उनले विगतका यस्तै टुरबाट प्रतिभा पहिचान भई अहिले सोही मैदानमा विश्वकप खेलिरहेका लोकेश बमजस्ता खेलाडीलाई स्मरण गरे।

“डीसीएबाट हुर्किएका खेलाडीहरू आज अन्तर्राष्ट्रिय मञ्चमा देखिन थालेका छन्। अहिले खेल जीवनको सुरुवात गरिरहेका यी युवाका लागि मुम्बई टुर ठूलो अवसर हो,” शाहीले भने।
शाहीका अनुसार यो टुरले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने, सिक्ने र आत्मविश्वास बढाउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
डीसीएका म्यानेजर सन्दीप भट्टको नेतृत्वमा गएको १७ सदस्यीय टोलीमा अन्डर–१६ वर्गका १४ खेलाडी समावेश छन्। टोलीमा धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रमका ४, डीसीएका ५, केडिसिएका २ र सिवाइसी अत्तरीयाका ३ खेलाडी रहेका छन्।









You must be logged in to post a comment.