धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा अवस्थित वाल्मीकि इन्टरनेसनल स्कुलले आफ्नो पाँचौँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको आफ्नै प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति डाक्टर हेमराज पन्त प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर पन्तले गुणस्तरीय शिक्षाले मात्र समाज र राष्ट्रको समग्र विकास सम्भव हुने बताए। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलाप पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै उनले वाल्मीकि इन्टरनेसनल स्कुलले छोटो समयमै शैक्षिक क्षेत्रमा गरेको प्रगतिप्रति प्रशंसा गरे।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, नाटक, कविता वाचन, गीत तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र प्रस्तुति क्षमताले अभिभावक तथा अतिथिहरूलाई आकर्षित गरेको थियो। विशेषगरी सामाजिक सन्देश बोकेको नाटक र स्थानीय संस्कृतिमा आधारित नृत्यले दर्शकबाट प्रशंसा बटुलेको थियो।
विद्यालयका प्रधानाध्यापक ड्रोणशिष न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालय स्थापनादेखि हालसम्मको यात्रा र उपलब्धिबारे जानकारी गराए। उनले पाँच वर्षको अवधिमा विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राख्दै अगाडि बढिरहेको बताए। अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यले मात्र विद्यालयको लक्ष्य हासिल गर्न सकिने उनले उल्लेख गरे।
कार्यक्रमको सञ्चालन करण बाँनियाले गरेका थिए। विद्यार्थीहरूको उत्साह, अभिभावकको सक्रिय सहभागिता र अतिथिहरूको उपस्थितिले कार्यक्रम अवधिभर विद्यालय परिसर उत्सवमय बनेको थियो।
विद्यालय व्यवस्थापन समितिले आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।









You must be logged in to post a comment.