“हिजोको त्यो सपना, आजको यो वास्तविकता।” धनगढी क्रिकेट एकेडेमी (DCA) का लागि अहिले यही वाक्य सबैभन्दा अर्थपूर्ण बनेको छ।
सन् २०१५ मा डिसिए ले आयोजना गरेको मुम्बई टुरका क्रममा एउटा सानो खेलाडीले आजाद मैदानमा शतक प्रहार गर्दै ठूलो सम्भावनाको संकेत दिएका थिए। त्यतिबेला कसैले कल्पना नगरेको त्यो पारी आज इतिहास जस्तै लाग्छ।
त्यही शतकधारी लोकेश बम अहिले टी–२० विश्वकपमा नेपाली जर्सी लगाएर इङ्गल्याण्डविरुद्ध मुम्बईमै सानदार इनिङ्स खेल्दै देशको ध्यान खिचिरहेका छन्।
त्यो समय मुम्बई टुरमा सहभागी खेलाडी प्रतिश जि.सी.की आमाले लेखेको भावनात्मक अनुभूतिमा उल्लेख थियो,

“हाम्रा छोराहरू वानखेडे स्टेडियम हेर्दै भन्थे, कहिले यहीं खेलेर देखाउने हो।” मैदान बाहिर उभिएर देखिएको त्यो सपना आज लोकेशमार्फत मैदानभित्र साकार भएको छ।
डिसिए को उद्देश्य सधैं प्रतिभालाई अवसर दिनु र अन्तर्राष्ट्रिय वातावरणमा घुलमिल गराउनु रहँदै आएको छ। सोही लक्ष्यअनुसार अहिले पनि डिसिए को यू–१६ टोली मुम्बई टुरमै छ। केही वर्षअघि सपना देख्ने पुस्ता आज विश्वकप खेलिरहेको छ भने अहिलेका साना खेलाडीहरू पनि त्यही मैदानमा पसिना बगाइरहेका छन्।
क्रिकेट वृत्तमा यो संयोग मात्र होइन, निरन्तर प्रयास र सही मार्गदर्शनको परिणामका रूपमा हेरिएको छ। स्थानीय स्तरबाट सुरु भएको यात्रा अनुशासन, प्रशिक्षण र आत्मविश्वासको आधारमा विश्वमञ्चसम्म पुग्न सक्छ भन्ने उदाहरण लोकेश बमले प्रस्तुत गरेका छन्।
डिसिए परिवारले लोकेशको सफलतालाई संस्थागत यात्राको उपलब्धि मानेको छ। “डिसिए बाट वानखेडेसम्मको दूरी असम्भव छैन” भन्ने सन्देश अहिले धनगढीका प्रत्येक युवा खेलाडीका लागि प्रेरणा बनेको छ।
आज मुम्बईमा अभ्यास गरिरहेका ती किशोरहरू भोलिका दिनमा नेपाली टोलीको मुख्य आधार बन्ने विश्वास गरिएको छ। सपना देख्ने साहस र त्यसलाई पूरा गर्ने संघर्ष जोडिएपछि असम्भवजस्तो दूरी पनि छोटो हुने प्रमाण लोकेश बमको यात्राले फेरि एकपटक दिएको छ।
यस पटकको विश्वकप २०२६ हेर्न मुम्बई पुगेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) को टोलीले त्यहा मैत्रिपर्ण खेल खेलिरहेको छ र सोही टिमका सदस्य रमित कार्कीले मुम्बईको आजाद मैदानस्थित न्यू इरा पिचमा मारिया क्रिकेट एकेडेमी विरुद्धको टुर अन्तरगतको तेस्रो खेलमा ११५ बलमा १३९ रनको शानदार पारी खेल्न सफल भएका छन् । सिवाईसि अत्तरीयाबाट प्रशिक्षण लिइरहेका कार्की डीसीएको टिम बाट मुम्बई टुरमा गएका छन् ।













You must be logged in to post a comment.