डि. आर भट्ट : देश निर्वाचनको चरणमा छ। राजनीतिक दल र नेताहरू घरदैलो अभियानमा छन्। फागुन २१ का लागि मतदातासँग हात जोड्दै भोट मागिरहेका छन्। तर आज बैतडीका जनताले एउटा सरल तर गम्भीर प्रश्न सोध्न आवश्यक छ—मैले तपाईंलाई भोट किन दिने?
बैतडीका जनताले विगतमा यही माटोका नेताहरूलाई पटक–पटक विश्वास गरे। सांसद बनाए, मन्त्री बनाए,प्रधानमन्त्रीसम्म पुर्याए तर सत्ता र पदको शिखरमा पुगेका ती प्रतिनिधित्वहरूले बैतडीका जनताको जीवनमा कस्तो परिवर्तन ल्याए?
बैतडी जस्तो सम्भावना बोकेको जिल्लाबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने व्यक्तिले अब जिल्लाको समस्या, सम्भावना र प्राथमिकता बारे स्पष्ट ज्ञान राख्नु अनिवार्य देखिन्छ। के उम्मेदवारसँग शिक्षा, स्वास्थ्य,कृषि, पर्यटन र युवालाई रोजगारी दिने ठोस योजना छ?
आज पनि जिल्लामा स्वास्थ्य सेवा सहज छैन,युवाहरू रोजगारीको अभावमा पलायन हुन बाध्य छन,सडक, शिक्षा, खानेपानी र विकासका सम्भावनाहरू अझै कागजमै सीमित छन्। यस्तो अवस्थामा चुनावी भाषण र पुरानै आश्वासन अब पर्याप्त छैन। बैतडीबाट संघीय सरकारमा प्रतिनिधित्व गर्न चाहने उम्मेदवारसँग जनताको प्रश्न स्पष्ट छन। तपाईं विगतमा कस्तो व्यक्ति हो? बैतडीका समस्या तपाईंलाई कत्तिको थाहा छ?पाँच वर्षपछि बैतडी कहाँ पुग्छ? तपाई लाई भोट किन दिने? यि प्रश्न व्यक्तिगत आक्रमण होइन। यो जवाफदेहिता मागिएको लोकतान्त्रिक पक्ष हो।
यसपटक बैतडीका मतदाताले भावना होइन, कार्ययोजना, भाषण होइन परिणाम, नारा होइन उत्तर चाहेका छन्।
त्यसैले लेखको तर्फबाट स्पष्ट आग्रह छ भोट माग्नुअघि, जनताको प्रश्नको उत्तर दिनुहोस्।
यो लेख कुनै दल वा उम्मेदवार विरुद्ध होइन, बैतडीका जनताको साझा प्रश्नको प्रतिनिधित्व हो। लोकतन्त्रमा प्रश्न गर्नु नागरिकको अधिकार हो र उत्तर दिनु उम्मेदवारको दायित्व हो।





