वायरलेस इन्टरनेट विस्तार अतिसुस्त, सेवा प्रदायक भन्छन्– फ्रिक्वेन्सी नतोकिँदा समस्या पर्‍यो

वायरलेस इन्टरनेट
सांकेतिक तस्बिर
प्रकाशित : :

मुलुकमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार ८० प्रतिशतमाथि पुगेको अवस्थामा वायरलेस प्रविधिको विकास भने अतिसुस्त देखिएको छ। वायरलेस प्रविधिबाट इन्टरनेट विस्तारले ग्रामीण क्षेत्रमा छिटो इन्टरनेट विस्तार हुनसक्ने भए पनि प्रगति राम्रो हुनसकेको छैन।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार देशभर अहिलेसम्म ब्रोडब्यान्ड इन्टरनेटको पहुँच ८० प्रतिशतभन्दा माथि पुगिसकेको छ। त्यसमध्ये वायरलेस इन्टरनेट भने ०.७८ प्रतिशतले मात्र प्रयोग गरेका छन्।

एक वर्षको अवधिमा वायरलेस इन्टरनेटको विस्तार ०.२ प्रतिशतमात्र भएको छ। एक वर्षअघि पुस महिनामा ०.७६ प्रतिशतले मात्र वायरलेस इन्टरनेट प्रयोग गरेकोमा यस वर्ष ०.७८ मात्र पुगेको छ। प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आइएसपी)लाई आवश्यक फ्रिक्वेन्सी नतोकिदिँदा वायरलेस ब्रोडब्यान्ड इन्टरनेट विस्तार हुन नसकेको नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आईएसपीएन)का अध्यक्ष सुधिर पराजुली बताउँछन्।

‘नेपाल दूरसञ्चार प्राधिकरणले आईएसपीलाई छुट्टै फ्रिक्वेन्सी तोकिदिने भनेको थियो’, पराजुलीले भने, ‘अहिलेसम्म तोकेको छैन। जसले गर्दा वायरलेस इन्टरनेट विस्तार हुनसकेको छैन।’ प्राधिकरणले केही समय फ्रिक्वेन्सीको लागि लिलाम बढाबढ पनि निकालेको थियो। पछि उक्त प्रक्रियासमेत अगाडि बढाउन सकेन। आईएसपीहरुलाई छुट्टै फ्रिक्वन्सी तोकिदिएमा ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार तीव्र हुनसक्ने पराजुलीको भनाइ छ।

‘ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार गर्ने हो भने आईएसपीहरुलाई फ्रिक्वेन्सी तोकिदिनुपर्छ’, पराजुलीले भने, ‘हामीलाई फ्रिक्वेन्सी तोकिदिएमा गाउँ गाउँमा इन्टरनेट पु¥याइदिन्छौँ।’ आईएसपीहरुले दश वर्षदेखि वायरलेस इन्टरनेट विस्तारको लागि फ्रिक्वेन्सी माग गर्दै आएका छन्।

अहिले आईएसपीहरुले प्रयोग गरेको वायरलेस एकदमै नगन्य मात्रामा रहेको उनी बताउँछन्। आईएसपीहरुले कर्णाली र केही पहाडी जिल्लामा यही प्रविधिबाट इन्टरनेट विस्तार गरेका छन्। ग्रामीण क्षेत्रमा दूरसञ्चार विकासको लागि वायरलेस प्रविधि नै चाहिन्छ। जुन अहिले नेपाल टेलिकम र एनसेलसँग वर्चस्व छ।

मुलुकमा पुस महिनासम्म ८२.७९ प्रतिशत जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेट पुगेको छ। जसमध्ये सबैभन्दा धेरै मोबाइल ब्रोडब्यान्डमा ६०.३४ प्रतिशत र फिक्स्ड लाइन इन्टरनेट २१.६८ प्रतिशतमा पुगेको छ।

एक वर्षको अवधिमा फिक्स्ड ब्रोडब्यान्डको प्रगति ५.५८ प्रतिशत भएको छ भने मोबाइल ब्रोडव्यान्ड इन्टरनेट ५ प्रतिशतले बढेको छ।

एक वर्षको अवधिमा ब्रोडब्यान्ड इन्टरनेट चलाउनको संख्या ३४ लाख ३७ हजारले थपिएका छन्। गएको पुस महिनामा २ करोड १२ लाखले ब्रोडब्यान्ड चलाएकोमा यस वर्षको पुसमा २ करोड ४७ लाख पुगेको छ। -नेपाल खबरबाट साभार

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट