धनगढी : धनगढीमा आयोजित ७ दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । महिला हिंसा विरुद्धको अभियान ’प्रहार’ को आयोजनामा सात दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेशभरका ९ जिल्लाका २२ स्थानीय तहबाट प्रतिनिधित्व गर्ने महिला र पुरुष गरी ५७ जना प्रशिक्षर्थी र ९ जना प्रशिक्षकको सहभागितामा गत मङ्गलवार आयोजना गरिएको तालिमको आज सोमबार एक कार्यक्रमका बीच समापन गरिएको हो ।
राष्ट्रिय गो जुरियो कराँते संघका महासचिव तथा प्रहारका अध्यक्ष, प्रशिक्षक प्रकाश चन्दको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश युवा परिषद सुदूरपश्चिम प्रदेशका कार्यकारी उपाध्यक्ष युवराज कुवर, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य दुर्गा भण्डारी, सुदूरपश्चिम प्रदेश क्षेत्रीय खेलकुद विकास समिति का उपनिर्देशक सुरेश सागर जोशी, युवा नेता तथा खो खो खेलका प्रशिक्षक मनोज राई , बास्केटबल खेलका प्रशिक्षक तथा अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाह, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशी, प्रेस चौतारी कैलालीका संयोजक भानुभक्त आचार्य, कराँते प्रशिक्षक केशव बडूवाल उपस्थिति रहेको थियो ।
भाद्र १५ गते देखी २१ गतेसम्म गो जुरियो कराँते सङ्घद्वारा अभियान प्रहार भन्ने शीर्षकमा ७ दिने आत्मरक्षा तालिम सञ्चालन भएको राष्ट्रिय गो जुरियो कराते संघका महासचिव तथा प्रहारका अध्यक्ष, प्रशिक्षक प्रकाश चन्दले बताए ।
सहभागी युवा, युवतिहरूले कठिन परिस्थितिको सामान गर्न सक्ने आट आत्मरक्षा तालीमले प्रदान गर्ने विश्वासका साथ उक्त ७ दिने प्रशिक्षण कार्यक्रममा सहभागी भएका हुन् ।
आत्म रक्षा तालिमले कुनै पनि समयमा आफूहरूलाई सहयोग गर्ने भएकाले हरेक व्यक्तिले तालिम लिनुपर्ने सहभागीहरू ले बताएका छन् । आफूले सिकेको कला आफ्नो ठाउँमा गएर अन्य किशोरीलाई सिकाउने उनीहरूको भनाई छ । आत्म रक्षा तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले महिलाहरू यो सिप सिकेकोमा खुसी भएका छन् ।
महिला हिंसाजन्य घटना न्यूनीकरणका लागि थालिएको अभियानलाई देशव्यापी रूपमा अगाडी बढाउनका आफूहरू लागि परेको महिला हिंसा विरुद्धको अभियान प्रहार का संस्थापक प्रकाश चन्दले जानकारी दिनुभयो । उक्त तालिम वर्तमान समयमा महिला पुरुष दुवैका लागि अपरिहार्य रहेको चन्दले बताउनुभएको छ ।
आत्मरक्षा सम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रमलाई स्थानीय तह हुँदै प्रदेश र प्रदेश हुँदै देशव्यापी दिनका लागि सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने चन्दले बताउनुभयो ।
त्यस्तै उहाँले तालिम आयोजनामा सहयोग गर्ने सहयोगी संस्थालाई धन्यवाद दिँदै महिला हिंसा न्यूनीकरणका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ ।
महिला हिंसाजन्य घटना न्यनिकरणका लागि प्रहारले विभिन्न ठाउँमा तालिम दिदैं आएको छ । उक्त ७ दिने तालिमको मुख्य सहयोगीका रूपमा प्रदेश युवा परिषद्, सुदूरपश्चिम प्रदेश, भेन्यु पार्टनर कैलाली उद्योग वाणिज्य सङ्घ, प्राविधिक सहयोग राष्ट्रिय गो जुरियो कराँते–दो सङ्घ नेपालको रहेको थियो । भने कार्यक्रममा सहभागी परशिक्षार्थिहरु लाई प्रमाण पत्र दिइनुका साथै प्रदेश युवा परिषद्का अध्यक्ष युवराज कुँवरलाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।












You must be logged in to post a comment.