धनगढी : सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ६ सय ११ जनाको परीक्षण गर्दा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ११ जनाको परीक्षण गर्दा थप ६९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ६ जनाको परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको उनले बताए । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ र २ का ३/३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसैगरी ठेगाना नखुलेका धनगढीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
कैलालीकै टीकापुर नगरपालिकाका १९ जना, बर्दगोरिया गाउँपालिकाका ६ जना, घोडाघोडी नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना, त्यसैगरी चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका १÷१ जनामा समेत कोरोना पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका र डोटीको केआई सिह गाउँपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
यस्तै, जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ५१ जनाको परीक्षण गर्दा ९ जनामा र जिल्ला अस्पताल बझाङमा १ सय २८ जनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए । उता कमलबजार नगरपालिकाको प्रयोगशालामा २६ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको छ ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ७ सय ८० पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ७ सय ७७ जनाले कोरोना जितेका छन् भने ४३ जनाको मृत्यु भएको छ ।