धनगढी: बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याका दोषीलाई कारबाहीको माग गरिएको छ ।
बैतडी समाज कैलालीले एक प्रेस विज्ञप्ति जारी गर्दै समाजको गम्विर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको हो ।
घटना भएको ८ दिन बितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसक्दा अवस्था झन् गम्विर भएको बुधवार समाजका सचिव हर्कबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
यसरी विद्यालय पढ्न गएकी किशोरीको बलात्कारपछि बीभत्स हत्या हुनुले चेलीबेटीहरू असुरक्षित भएको विज्ञप्तिमा जनाइएको छ ।
घटनाको गहन अध्ययन गरी दोषीलाई कानुनी कारबाही गर्न र नागरिकको सुरक्षित भएर बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न सरकार सङ्ग बैतडी समाज कैलाली जोडदार माग गर्दछ , विज्ञप्तिमा भनिएको छ ।
माघ २१ गते विद्यालय गएकी बैतडीको दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्टको २२ गते स्थानीय सामुदायिक वनमा हत्या गरिएको अवस्थामा सब फेला परेको थियो ।
पछिल्लो समयमा उक्त घटनालाई लिएर देशका विभिन्न स्थानमा विरोध प्रदर्शन सहित दोषीलाई कारबाहीको माग गरिँदै आएको छ ।