अछाम: जिल्लाको चौरपाटी गाउँपालिकाले आज ‘कोदो दिवस’ मनाएको छ । ‘स्थानीय रैथाने बालीको संरक्षण तथा सम्बर्द्धन गरौ, कोदो खेती गरि आत्मनिर्भर बनौ’ भन्ने मुल नाराका साथ गाउँपालिकाले दोस्रो कोदो दिवस मनाएको हो ।
कोदो बालिको संरक्षण र सम्बर्द्धन गर्ने उद्धेश्य सहित गाउँपालिकाले गत बर्ष देखि यो दिवस लाई मनाउन थालेको हो । पालिकाभित्र रहेका सात वटै वडामा कोदो रोपेर तथा गोडेर कोदो दिवस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।
कोदोलाई हेला र अवमुल्यांकन गर्ने मानसिकतालाई अन्त्य गरी त्यसको महत्वको बारेमा सचेतना फैलाउन तथा कोदो उत्पादनमा किसानलाई उत्साहित गर्न गाउँपालिकाले ‘फलेको कोदो, कुटेको धान’ नामक कार्यक्रम ल्याएको छ । जसअन्तर्गत किसानले उब्जाएको कोदो संकलन गरी सो बराबर चामल दिने गाउँपालिकाले जनाएको छ ।