आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले मंगलबार (आज) आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
सिरिज अन्तर्गत सोमबार भएको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । ओमान लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।
नेपाललाई बलियो टिम ओमानविरुद्ध जित निकाल्न सहज भने छैन । उसले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । उसले १० खेलमा १६ अंक जोडेको छ । नेपाल ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।
नेपालले गत वर्ष लिग–२ को सिरिज अन्तर्गत नै घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेल नेपालले गुमाएको थियो ।
त्रिवि क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको पहिलो खेलमा नेपाललाई १८ रनले हराएको ओमानले फेब्रुअरी ९ भएको दोस्रो भेटमा ८ विकेटको सहज जित हात पारेको थियो ।
नेपालविरुद्ध हाबी बन्दै आएको ओमान घरेलु मैदनमा पनि त्यसलाई निरन्तरता दिन चहान्छ ।