धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले कम्युनिष्टहरुले हाँगा हैन मूल बनेर जान जरुरी रहेको बताएका छन् । कर्णाली नदिको उदाहरण दिँदै नेता भट्टले प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिति प्रथम अधिवेशनको शनिवार धनगढीमा उद्घाटन गर्दै यस्तो बताएका हुन ।
‘चिसापानी पुलभन्दा तल दुई धार भएको कर्णाली अलि तलतिर गएर फेरि मिलेको छ’, उनले थपे । ‘कोठियाघाटभन्दामाथि फेरि कर्णाली एउटै हुन्छ भने कम्युनिष्ट किन हुन सक्दैनन् ? कम्युनिष्टहरु धार हैन मूल बनाएर एउटै हुनु पर्दछ ।’
नेता भट्टले समाजवाद ल्याउन चाहेका कम्युनिष्टहरु एक हुन नसकेकोप्रति लक्षित गर्दै भने–‘यदि, कम्युनिष्टहरु साँच्चिकै समाजवाद ल्याउन चाहन्छन् भने एउटै किन हुन सक्दैनन् ? माक्सवादको व्याख्या र विश्लेषण त फरक हुँदैन नि । लेनिनवादको व्याखा त छुट्टै हुदैन ।’
उनले एमाले पार्टीभित्र रहेको अराजकताकाविरुद्ध हरेक सदस्यले सङ्घर्ष गर्न आवश्यक रहेको बताए । अहिले आफ्नो पार्टीले गुटलाई निषेध रल सबैलाई एकत्रित गर्ने नीति लिएको उल्लेख गर्दै उनले पार्टीभित्र रहेको अराजकताकाविरुद्ध सबैले सङ्घर्ष गर्न आवश्यक रहेको बताए ।
‘दक्षिणपन्थी र अवसरवादकोको विरुद्ध सङ्घर्ष गरौं भन्ने नारा नै हाम्रो पार्टीले बोकेछ’, नेता भट्टले भने । ‘यस नारालाई आत्मसात गर्दै दक्षिणपन्थी र अवसरवादकाविरुद्ध सबैले सङ्घर्ष गर्नुपर्छ ।’ नेता भट्टले सङ्घर्ष ध्वंसात्मक नभइ सृजनात्मक हुने पर्नेमा जोड दिए। ‘सङ्घर्षले निर्माण गर्नु पर्दछ। भत्काउनु हुन्न’, उनले भने ।
उनले केपी ओली विचार र केन्द्र रहेको उल्लेख गर्दै केपी ओलीमा सबै जना केन्द्रित रहेको बताए । ‘सबै जना मूल नेतृत्वमा केन्द्रित छौं’, उनले भने । यसैगरी, पार्टीलाई व्यवस्थित बनाउनमा प्रेस चौतारी आवद्ध पत्रकारका भूमिका महत्वपूर्ण रहेको इन्चार्ज भट्टको भनाइ थियो । उनले भने–‘पार्टीको कामलाई कसरी अगाडि बढाउने र कसरी व्यवस्थित गर्न सकिन्छ ? त्यसमा तपाईहरुको भूमिका महत्वपूर्ण छ ।’ उनले समाजवादमा प्रवेश गर्न र रुपान्तरण गर्न सम्भव रहेको बताए ।
यस्तै, एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले एमाले पार्टीभित्र गुटबन्दी स्वीकार्य नरहेको बताए । ‘त्यसकारण कसैले एक सेकेण्ड पनि यसतर्फ समय बर्बाद नगर्नु होला’, उनले भने । ‘गुटबन्दी स्वीकार्य हुँदैन ।’
नीति र विधि अनुसार पार्टीका मान्यतालाई प्रचार गर्नु सबैको दायित्व रहेको अध्यक्ष थापाको भनाइ थियो । उनले प्रेस चौतारीमा लागेका पत्रकार मिहिनेती हुन्छन् भन्ने भावनाका साथ अगाडि बढ्न आवश्यक रहेको औंल्याए । ‘प्रेस चौतारी आवद्धलाई संस्थामा राखेपछि मेरो संस्थाको इज्जत बढ्छ भन्ने मसहुस हुने त्यो भावनाको साथ अगाडि बढ्न म तपाई पत्रकारलाई आग्रह गर्दछु’, उनले भने । अध्यक्ष थापाले जनताको बहुदलीय जनवादलाई मार्गदर्शनको रुपमा लिने गरी प्रेस चौतारी गठन भएको बताए ।
अधिवेशन उद्घाटन समारोहमा सुदूरपश्चिम सह–इन्चार्ज नारदमुनि राना, प्रदेश सचिव धर्मराज पाठक लगायतका नेताहरुले बोलेका थिए । सो अवसरमा प्रेस चौतारीको संस्थागत विकासमा सहयोग पु¥याउने डडेल्धुराका करन ताम्राकार, कञ्चनपुरका विष्णु अवस्थी, डडेल्धुराका नवराज भण्डारी, अछामका महेश शाही, बाजुराका तुलाराम जैशी, कैलालीका पदम शाह, पुष्प भट्ट, पदम ओझा, धर्मराज पाध्याय र नरेश शाहीलाई सम्मान गरिएको छ । यस्तै, संस्थागत र संगठनात्मक गतिविधिमा उत्कृष्ट कार्य गरेको कदर गर्दै प्रेस चौतारी नेपाल दार्चुला शाखालाई सम्मान गरिएको छ ।