काठमाडौँ : नेकपा (एमाले)ले स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरेकोमा विरोध गरेको छ । एमालेले प्रतिनिधिसभामा क्षितिजलाई पक्राउ गरेर सरकारले कलाकारमाथि अत्याचार र दमन गरेको बताएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको तर्फबाट प्रतिनिधिसभाको बुधबारको बैठकमा समय माग गरेर बोल्दै स्ट्यान्ड अप कमेटियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरिएकोमा विरोध गरेको हो ।
राजनीतिक दलका नेताहरूले प्रज्ञाभवन र सभागृहमा बसेर हास्य कलाकारहरूको आफूमाथिको कडा व्यंग हाँसेरै स्वीकार गरेको उल्लेख गर्दै भट्टराईले भने, ‘अपूर्व क्षितिज सिंहजस्तो एउटा कलाकारलाई दशौं दिनदेखि थुनामा राख्ने क्रिया यो सरकार गरिरहेको छ । उहाँलाई शीघ्र रिहाइको माग गर्न चाहन्छु ।’
अपूर्वले आफ्नो प्रस्तुति सामाजिक संजालबाट डिलिट गरेको र क्षमा मागेको अवस्थामा अत्याचार गर्नबाट सरकार पछि हट्नुपर्ने भट्टराईको भनाइ छ ।
अपूर्वलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो । उनले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।