कैलाली : दिनहुँ दुर्घटना हुन थालेपछि धनगढी उपमहानगरपालिकाले अत्तरिया-मोहनापुल ६ लेन सडकको दुवै किनारमा राखिएका डिभाइडर हटाउन सुरु गरेको छ । उपमहानगरपालिकाका मेयर गोपाल हमालले ६ लेन सडकमा दिनहुँ जसो सवारी दुर्घटना हुन थालेपछि डिभाइडर हटाउन थालेको जानकारी दिएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अशोक सिंहले गोदावरी नगरपालिकासँग समन्वय गरी बाँकी रहेका डिभाइडर समेत छिट्टै हटाइने बताए ।
धनगढी उपमहानगरपालिका र प्रदेश प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक चौराहादेखि राजपुरसम्म डिभाइडर हटाउने काम गरिरहेको कैलालीका ट्राफिक प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले बताए ।
फराकिलो सडकमा रातिको समयमा बढी जस्तो दुर्घटना हुने गरेको र सो बाट धेरै मानवीय तथा पशुको समेत क्षति भएको बताउँदै मेयर हमालले अहिले डिभाइडर हटाउने र सडक बत्ति जडान गर्ने कार्य भइरहेको बताए । यसबाट दुर्घटनामा कमी आउने समेत उनकाे भनाइ छ ।