धनगढी : धनगढी उप-महानगरपालिका वडा नम्बर १६ स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा एक जनाको शव फेला परेको छ ।
मृत्यु हुनेमा डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार हाल भाट कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका थिए।
आज बिहान करिब ५ बजे धनगढी उप-महानगरपालिका वडा नम्बर–१६ रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको छ ।
यस्तै, भाटसँगै गएका ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।