प्रा.डा.सानुमैयाँ दली,डा.सरोजा पाण्डे, प्रा.डा. प्रमिला प्रधान,प्रा.डा.आश्मा राना, प्रा.डा.लता बज्राचार्य, प्राज्ञ तथा लेखक अमर न्यौपाने, लेखककी पत्नी चण्डेश्वरी श्रेष्ठ ताम्राकारसहित लेखक डा. ताम्राकारले ‘स्वस्थ महिला’पुस्तक विमोचन गरेका हुन् ।
बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दाका शारीरिक परिवर्तन, किशोरावस्थाका जटिलता र जिज्ञासा, महिनावारी, पाठेघर र डिम्बाशयबारे जानकारी, यौनजन्य संक्रमण, बाँझोपन, रजोनिवृत्तिलगायत महत्वपूर्ण विषयलाई पुस्तकले समेटेको छ । पाठेघरको मुखको संक्रमणका साथै विभिन्न अंगमा हुने क्यान्सर, तिनको रोकथाम र शल्यक्रिया अघि/पछिको हेरचाहका बारेमा पुस्तकमा समेटिएको छ ।
कार्यक्रममा प्रा.डा. पदमराज पन्तले पाठेघरमा हुने पानीको फोका, सिस्टदेखि परिवार नियोजनसम्बन्धी विषयमा लेखिएकाले पुस्तक पढ्दा यस्ता रोगबाट जोगिन सकिने बताए ।
बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको उपस्थितिमा भएको कार्यक्रममा बरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा.सानुमैयाँ दलीले बिमोचित पुस्तकले महिला स्वास्थ्यको विषयमा निकै महत्वपूर्ण जानकारी दिने बताइन् ।
साधारण जानकारीको अभावमा महिलाले कष्ट व्यहोर्नुपरेको अनुभवका आधारमा उनीहरूको समस्यामा केन्द्रित रही पुस्तक तयार पारिएको लेखक ताम्राकारले बताए । सन् २०१५ देखि नै स्वस्थ महिला पुस्तक लेख्न सुरु गरेको उनको भनाइ छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा लेखक अमर न्यौपानेले किशोरअवस्थामा शरीरमा आउने परिवर्तनदेखि महिनावारी, रजोनवृतिसम्म र महिलाको शरीरमा आउने समस्याबारे पुस्तकमा समेटिएको बताए ।
पुस्तकमाथि चर्चा गर्दै डा. सपना अमात्य, प्रा.डा. आभा श्रेष्ठलेलगायतले ‘स्वस्थ महिला’ पुस्तक हरेक व्यक्तिले पढ्नुपर्ने र घरघरमा पुर्याउनुपर्ने प्रतिक्रिया दिए ।
लेखक प्रा.डा. ताम्राकार धुलिखेल अस्पतालमा सन् २००२ देखि कार्यरत छन् । सन् २००७ देखि उनी कन्सल्टेन्ट गाइनेकोलोजिस्टका रुपमा काम गरिरहेका छन् ।
उनको विशेष रुचि ल्याप्रोस्कोपी र निःसन्तान क्षेत्रमा छ । उनले ‘स्वस्थ महिला’ सहित करिब डेढ दर्जन स्वास्थ्य, संस्कृति एवं साहित्यका पुस्तकहरू लेखेका छन् । नेसोगको सह–कोषाध्यक्ष समेत रहेका उनले नेपाली महिलाको स्वास्थ्य सुधारको क्षेत्रमा विभिन्न लेखमार्फत् पनि योगदान पुर्याएका छन् ।