इजरायल घटनाले खोसेको खुसी र जलाएको सपना !

भूकम्पले घर लग्यो, हमासले छोरा

इजरायल घटनाले खोसेको खुसी र जलाएको सपना
प्रकाशित : :

धनगढी : २५ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल उड्नुअघि आशिष चौधरीले फोन गरेर भनेका थिए, ‘बाजे केहीबेरमा उड्दैछु, तपाईंहरु राम्रोसँग बस्नुहोला ।’
२५ वर्षीय आशिष सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एगि्रकल्चरको अध्ययन सकेर इजरायल जाँदै थिए । कैलालीको जोशीपुर गाउँपालिका-५ का ७० वर्षीय कन्हैयालाल चौधरीलाई नाती आशिषले इजरायल उड्नुअघि भएको फोन सम्वाद अझै पनि याद छ । आशिष भने अब उनीसँग रहेनन् ।

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । मारिनेमा आशिष पनि छन् । यो खबरलले परिवार विक्षिप्त छ ।

कन्हैयालाल सानैदेखि आफ्नै काखमा हुर्काएका नातीको मृत्युको खबरले छिनछिनमा भावविह्वल हुन्छन् । आफूलाई सम्हाल्ने प्रयास गर्छन्, तर सक्दैनन् ।

आशिष उनको कान्छी छोरीको छोरा हुन् । छोरी-ज्वाइँ भारतको बैंङ्लोरमा बस्दै आएका छन् । आशिषको पालनपोषण बाजे कन्हैयालालले गरेका थिए । उनका दुई छोरी र एक छोरा छन् । तर छोरा २०५४ सालमा प्यारालाइसिस भएर छोरा अपाङ्ग छन् । उनको हेरचाह पनि कन्हैयालाल आफंैले गर्नुपरेको छ । नाती आशिष उनको साहारा थियो ।

‘आफ्नै काखमा खेलाए, हुर्काए, पढाए तर आज पापी दैवले चुडेर लग्यो । अब म कसको सहारामा बाचौं ?’ नाती सम्भिmँदै कन्हैयालाल भक्कानिए, ‘यो पापी संसारमा कसरी बाँचु ?’

आशिष ११ महिनापछि इजरायलबाट फर्किने बाचा गरेर गएका थिए । शनिबार इजरायलमा हमासले आक्रमण गरेको सुनेदेखि नै नातीको अवस्थाबारे चासो लिएका उनले अरुबाटै मृत्युको खबर थाहा पाए । आशिष अब कहिल्यै नफर्किने भएका छन् ।

छोराको मृत्युको खबरले विक्षिप्त बनेका कन्हैयालालका छोरी-ज्वाइँ बैंङ्लोरबाट कैलाली फर्किरहेका छन् । कन्हैयालाल नातीको सास नभए पनि अन्तिम पटक लास हेर्न चाहन्छन् । इजरायलमा रहेको नातीको लास ल्याउने प्रबन्ध मिलाइदिन उनले सरकारसँग आग्रह गरेका छन् ।

  • बझाङका धनलालको परिवारमा बज्रपात : भूकम्पले घर लग्यो, हमासले छोरा

इजरायलमा भएको आतंककारी हमलामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए। सुदूरपश्चिम विश्वविद्यालयले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पठाएका विद्यार्थी आक्रमणमा परेका हुन्।

विद्रोही समूह हमासको आक्रमणमा परेर ज्यान गुमाउनेमा ७ जना सुदूरपश्चिमका छन्। तीमध्ये एक बझाङ जयपृथ्वी नगरपालिका–११ डाडाँगाउँका गणेश कुमार नेपाली पनि हुन्।

उनी भदौ २५ मा इजरायल उडे। छोरा विदेशमा मारिएको खबरले नेपालीको परिवार शोकमा छ। ६० वर्षीय बुवा धनलाल भक्कानिँदै भन्छन्, ‘छोरालाई हेर्न पाए हुन्थ्यो, हामीले भोग्नुपर्ने दुःख त भोगिसक्यौं, सानो टुक्रा भए पनि हेर्न पाए हुन्थ्यो, रगतका टुक्रा हो।’

भूकम्पले घर चर्काएको पीडामा रहेका धनलालको परिवारमा छोराको निधनले अर्को ब्रजपात थपेको छ। वैदेशिक अध्ययनका क्रममा विदेश गएका विद्यार्थीको दुःखद खबर पूरै गाउँ नै शोकमग्न बनेको जयपृथ्वी नगरपालिका–११ सर्जन थापा बताउँछन्।

‘गणेश मेरो साथी हो, हामी कक्षा १० सम्मसँगै पढ्यौँ,’ उनले  भने, ‘हिजो त्यस्तो दुःख खबर सुन्नुपर्‍यो, होनहार युवाको निधनले गाउँ नै स्तब्ध छ।’

उनका अनुसार गणेश पढाइमा सानैदेखि जेहेन्दार थिए। पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रुची राख्थे। नृत्य, गायन, कविता लेखनमा पनि उनी सहभागी भइरहन्थे।

कक्षा १० सम्मको पढाइ बझाङकै गणेशले सत्यवादी माध्यमिक विद्यालयबाट गरेका थिए। कक्षा १२ चितवनबाट उर्तिण गरेका उनी सुदूरपश्चिम विश्वविद्यालयमा बिएससी गरेपछि इजरायल गएका थिए।

इजरायलमा सीप सिकेर आर्जन गर्दै स्वदेश फर्किएर कृषि क्रान्ति गर्ने गणेशको सपना विदेशमै बिलायो। गणेशको कृषिमा असाध्यै रूचि थियो। ‘कृषिमा क्रान्ति गर्नुपर्छ भन्थ्यो, कृषि उब्बाउले मात्रै नेपाल उन्नति गर्न सक्छ भन्ने मानेर काम ग¥थ्यो,’ गणेशका दाई विशाल भन्छन्, ‘संस्था पनि खोलेको थियो, तर काम गर्नै पाएन।’

उनका दाइ निजामती सेवामा छन्। गणेशको परिवारमा दाइसहित बुवा, आमा, भाउजू र भाइ पनि छन्। बुवा धनलाल सिलाइको काम गर्छन्। त्यहीँबाट कमाएको पैशाले गणेश र विशाललाई पढाएका थिए।

ऋणदान गरेर पढाएको बुढेसकालको सहारा छोरा विदेशमा मारिएपछि धनलाल सम्हालिन सकेका छैनन्। परिवारको अन्तिम चाहना छोराको सम्मान साथ गाउँमै दाहसंस्कार गर्ने छ।

गणेशको परिवारले शव घर ल्याइदिन सरकारसंग आग्रह गरेका छन्। ‘सास त पाएनौँ, सरकारले लास घरसम्म ल्याइदिए हुन्थ्यो, गाउँमै सम्मान साथ दाहसंस्कार गर्थ्यौँ,’ गणेशका दाई विकाशले भने, ‘लासै भएपनि अनुहार हेर्न पाए हुन्थ्यो।’

– नेपालखबरबाट साभार

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट