दुई महिनादेखि सार्वजनिक मञ्चमा नदेखिएका चिनियाँ रक्षामन्त्री ली साङ्फु औपचारिक रूपमा बर्खास्त हुनुभएको छ । उहाँलाई हटाउनुको कारण खुलेको छैन ।
नयाँ रक्षामन्त्रीका रुपमा अहिलेसम्म कसैलाई पनि घोषणा गरिएको छैन । यसै हप्ता बेइजिङमा विदेशी रक्षा अधिकारीहरूलाई चीनले स्वागत गर्ने तयारी गरिरहेको छ । यही समयमा रक्षामन्त्रीलाई औपचारिक रुपमा हटाएको चीनको समाचार संस्था सीसीटीभीले उल्लेख गरेको छ ।
रोयटर्सले गएको महिना गरेको एक रिपोर्टअनुसार रक्षामन्त्री ली उपकरण खरिद र विकाससम्बन्धी भ्रष्टाचारको अनुसन्धानमा तानिनुभएको थियो । उहाँ गएको अगस्ट १५ तारिखमा रुसको मस्कोमा आयोजित एक सुरक्षा सम्मेलनमा सहभागी हुनुभएको थियो । त्यसको दुई दिनपछि बेलारुस सरकारले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेंकोसँग मिन्स्कमा भएको भेटवार्ताको तस्बिर सार्वजनिक गरेको थियो ।
त्यस्तै, अगस्ट २९ तारिखमा लीले बेइजिङमा आयोजित अफ्रिका पिस एन्ड सेक्युरिटी फोरममा मुख्य प्रवचन दिनुभएको थियो । तीन महिनामा चीनमा दुई जना मन्त्री बर्खास्त भएका छन् । गएको जुलाईमा तत्कालीन विदेशमन्त्री छिङ काङ बर्खास्तीमा पर्नुभएकाे थियाे ।