धनगढी : मोटरसाइकल चोरीको आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकासबस्तीका किशन रानालाई सोमबार पुनः पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले कञ्चनपुर प्रहरीको सहयोगमा रानालाई पुनर्वासबाट पक्राउ गरेको हो।
रानामाथि सुदूरपश्चिम प्रदेश ०१–०१० प ५६२० नम्बरको २२० सिसी बजाज कम्पनीको मोटरसाइकल चोरीको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार रानालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। हाल उनी कैलाली प्रहरीको हिरासतमा छन्।
गत पुस ५ गते राना आफैँ जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका थिए। तर, बिना लिखित प्रक्रिया उनलाई सोही दिन छोडिएको थियो।
यो घटनापछि मोटरसाइकल धनी तथा पत्रकार कलम सावदले प्रहरीको लापरबाहीको विरोध गर्दै आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा धर्ना दिएका थिए। उनले प्रहरीमाथि चोरी भएको मोटरसाइकल खोज्न गम्भीर नभएको, मुद्दा दर्ता नगरेको र अभियुक्तलाई भगाएको आरोप लगाए।
उनको धर्नापछि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरतबहादुर शाह नेतृत्वको टोली प्रहरी कार्यालय पुगेको थियो। उक्त भेटमा प्रहरी प्रमुख विष्टले सोमबार आरोपितलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका थिए।
सोही प्रतिबद्धता अनुरूप सोमबार रानालाई पुनः पक्राउ गरिएको हो। मोटरसाइकल धनी सावदले भने चोरी भएको मोटरसाइकल फेला नपरेको र प्रहरी खोजतलासमा अझै लापरवाह रहेको बताएका छन्।
सावदले जिल्ला प्रहरी कार्यालय कैलालीका कर्मचारीहरूलाई कारबाही गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा निवेदन दिएका छन्।
चोरी भएको मोटरसाइकल गत भदौ १३ गते धनगढीको दिनेश एफएमबाट खरिद गरेकै दिन हराएको थियो। प्रहरीका अनुसार मोटरसाइकलको खोजी कार्य जारी रहे पनि हालसम्म फेला पार्न नसकिएको हो।