मुलुकभर अहिले निषेधाज्ञा र कर्फ्यु लागेको छ, के फरक छ ?

मुलुकभर अहिले निषेधाज्ञा र कर्फ्यु लागेको छ, के फरक छ ?
प्रकाशित : :

धनगढी: मुलुकभर अहिले निषेधाज्ञा र कर्फ्यु लागेको छ। देशका विभिन्न ठाउँमा सुरक्षासम्बन्धी संवेदनशीलता बढ्दा स्थानीय प्रशासनले कहिले निषेधाज्ञा त कहिले कर्फ्यु आदेश जारी गर्ने गर्छ।

धेरैलाई यी दुईबीचको भिन्नता प्रष्ट नहुने भएकाले प्रायः दुवैलाई एउटै अर्थमा बुझ्ने गरिन्छ। तर, कानुनी दृष्टिले दुवै फरक व्यवस्था हुन्।

निषेधाज्ञा
निषेधाज्ञा सामान्यतया स्थानीय प्रशासनले कुनै क्षेत्र विशेषमा भिडभाड, सभा–समारोह, प्रदर्शन वा हिंसा हुनसक्ने आशंका भएकामा जारी गर्ने आदेश हो। यसअन्तर्गत मानिसलाई पाँच वा सोभन्दा बढी समूहमा भेला हुन रोक लगाइन्छ। सडकमा आवत–जावत भने सामान्यतया पूर्णतया बन्द हुँदैन। बजार, कार्यालय वा आवश्यक सेवा आंशिक रूपमा सञ्चालन हुने प्रावधान रहन्छ।

कर्फ्यु
कर्फ्यु भने निषेधाज्ञाभन्दा कडा सुरक्षा उपाय हो।

यसमा प्रशासनले निश्चित समयावधि वा क्षेत्रलाई पूर्णतया बन्द गर्ने निर्णय लिन्छ। कर्फ्यु लागू भएको बेला बिना अनुमति घरबाहिर निस्कन पाइँदैन। सुरक्षाकर्मीले नियम तोड्ने व्यक्तिलाई पक्राउ गर्न वा नियन्त्रणमा लिन सक्छन्। आवश्यक सेवामा संलग्न व्यक्ति वा सवारीसाधनलाई मात्रै पास दिएर सञ्चालन गर्न अनुमति दिइन्छ।

कसरी जारी हुन्छ?
दुवै आदेश स्थानीय प्रशासन प्रमुख जिल्ला अधिकारीको अधिकार अन्तर्गत पर्छ। तर निषेधाज्ञा प्रायः हिंसा रोक्न र भीड नियन्त्रण गर्न प्रयोग गरिन्छ भने कर्फ्यु चरम अवस्था जस्तै ठूला दंगा, आतङ्ककारी गतिविधि वा सार्वजनिक सुरक्षामा गम्भीर संकट देखिँदा मात्र लागू हुन्छ।

विशेषज्ञहरूका अनुसार दुवै आदेश नागरिकको स्वतन्त्रतामा अस्थायी नियन्त्रण गर्ने उपाय भए पनि सुरक्षाकर्मीको विवेकअनुसारको बल प्रयोग कर्फ्युमा बढी हुने भएकाले जनताले अझ कडाइका साथ पालना गर्नुपर्ने हुन्छ।
यसरी हेर्दा, निषेधाज्ञा ‘आंशिक रोक’ हो भने कर्फ्यु ‘पूर्ण रोक’ हो भन्ने बुझ्न सकिन्छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट