संयुक्त राष्ट्रसङ्घकाे महासभामा प्रधानमन्त्री ओली: “नेपालको नीति– सबैसँग मित्रता, कसैसँग शत्रुता छैन”

प्रधानमन्त्री ओलीले महासभामा के भने?
प्रकाशित : :

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना छिमेकी देशहरूसँगको सम्बन्ध थप अभिवृद्धि गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता”प्रति दृढ विश्वास राख्दै नेपालले आफ्नो परराष्ट्रनीति सञ्चालन गरेको बताए।

आफ्नो सम्बोधनमा ओलीले मध्यपूर्वमा जारी द्वन्द्वदेखि रुस-युक्रेन युद्धका विषयमा पनि आफ्नो धारणा व्यक्त गरे।

न्यूयोर्कमा रहेका ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी सहयता निकाय यूएसएड र एमसीसीसहितका उच्च अधिकारीहरूसँग भेटवार्ता पनि गरेका छन्।

राष्ट्रसङ्घीय महासभामा ओलीले झन्डै २२ मिनेट सम्बोधन गरे। त्यस क्रममा उनले जलवायु सङ्कट, बढ्दो भूराजनीतिक द्वन्द्व र सैन्य खर्चको वृद्धिका कारण विश्व अस्थिरतातिर उन्मुख भएको बताए।

“मानिस र पृथ्वी दुवै जलवायु सङ्कटको सँघारमा छन्। भूराजनीतिक द्वन्द्व फेरि सुरु भएको छ। सैन्य खर्च तीव्र गतिमा बढिरहेको भने अस्त्रको प्रतिस्पर्धा निरन्तर कायम छ। पारमाणविक द्वन्द्वको त्रास विगतमा भन्दा उच्च छ।”

ओलीले यस्तो प्रतिकूल अवस्थामा नेतृत्वले उपयुक्त किसिमको सहकार्य र आपसी सहयोगलाई प्रवर्धन गर्नुपर्ने बताए।

उनले युक्रेन र मध्यपूर्वका द्वन्द्वमा एकमात्र समाधान संवाद र कूटनीति रहेको विश्वास नेपालको भएको स्पष्ट पारे। प्रेम र करुणाभावले मात्रै शत्रुता र घृणा हटाएर दीर्घकालीन शान्ति कायम हुन सक्ने उनको धारणा थियो।

“इजरेल र प्यालेस्टाइन द्वन्द्वमा हामी दुई देशको अवधारणालाई समर्थन गर्छौँ, जसमा इजरेल र प्यालेस्टाइन राष्ट्रसङ्घीय प्रस्तावहरूसँग अनुकूल हुने गरी अन्तर्राष्ट्रिय मान्यताप्राप्त सीमाभित्र शान्ति र सुरक्षापूर्वक सह-अस्तित्वमा रहन्छन्।”

इजरेल र प्यालेस्टाइन दुवैलाई मान्यता दिएको नेपाल वर्षौँदेखि “दुई राज्यसहितको समाधान” हुनुपर्ने मान्यतामा छ।

तर एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको “अवैधानिक उपस्थिति” अन्त्य गर्नुपर्ने मागसहितको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट गत साता पारित हुँदा भने नेपाल मतदानमा तटस्थ बसेको थियो।

नेपालको छिमेक नीति र अरू सन्दर्भमा ओलीले के भने
न्यूयोर्कमा ओलीले नेपालका दुवै छिमेकी देशका उच्च प्रतिनिधि र विभिन्न देशका नेताहरूसँग भेटवार्ता गरेका छन्। महासभामा उनले नेपालको परराष्ट्रनीतिको पनि चर्चा गरे।

उनले नेपालले कसैसँग पनि शत्रुता नराख्ने र सबैसँग मित्रता गाँस्ने अटुट आस्थासहितको परराष्ट्रनीति अवलम्बन गरेको जनाए।

“नेपाल आफ्ना छिमेकीहरूसँग र त्यसभन्दा पर पनि निकट, मित्रतापूर्ण र रचनात्मक सम्बन्धलाई थप अभिवृद्धि गर्न चाहन्छ। त्यो पारस्परिक विश्वास, सार्वभौमिक समानता, भौगोलिक अखण्डता, एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा आधारित हुनुपर्छ।”

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार