उसको र मेरो बिहे भइसक्यो तर पनि किन अझै उसकै याद आउँछ ?

उसको र मेरो बिहे भइसक्यो तर पनि किन अझै उसकै याद आउँछ ?
प्रकाशित : :

आशिष माल, पोल्याण्ड : हिउँद सुरु भएको मौसम थियो। बिहानको धुलोमिश्रित चिसो हावा र साँझको सुनसान आकाशबीच सधैं झैँ ऊसँगको भेट तय भयो।

नाम सुन्दा नै एउटा मिठो कम्पन आउँथ्यो मनभित्र। ऊ हाँस्दा नजिकका बत्तीहरू झन् उज्यालो देखिन्थे, र म हरेकपटक सोच्थें, “यो पल कहिल्यै अन्त्य नहोस्।”

तर आजको साँझ केही फरक थियो। ऊ चुपचाप थिई, हाँसो कम, नजरहरू अनौठा। म सोध्न सक्थें “के भयो?” तर शब्दहरू घाँटीमै अड्किए।

ऊ बिस्तारै बोली, “मलाई घरले बिहे गर्न लगाउने भएको छ।”

एकछिन लाग्यो, समय रोकियो। वरिपरिका बत्तीहरू, सडकका आवाज, सब सुन्न बन्द भयो। केवल मनको आवाज मात्र बज्यो “त्यसो भए अब हामी…?”

ऊ केही बोलिन। आँखा झुकाइन्, अनि मुस्कुराइन् त्यो मुस्कान जुन आँसु जस्तै पारदर्शी थियो। “जीवन हरेकपटक हामीले चाहेजस्तो त हुँदैन नि…” ऊस्ले भनिन्।

म केही क्षण मौन रहे, अनि बिस्तारै भने, “जीवनले तिमीलाई मबाट टाढा लग्दैछ तर मलाई तिमीबाट टाढा बनाउने शक्ति छैन।” भन्न मात्र सके…

त्यो रात, म न निदाइ उठ्यौँ। न त अन्तिम बिदाईको आलिङ्गन भयो, न त कुनै वाचा। म घर फर्कँदै थिएँ, सडकका बत्तीहरू धुंधला देखिन्थे, आँखा रसाएको थियो। त्यो साँझ मैले महसुस गरेँ सबैभन्दा गहिरो विदाई भनेको मौनता रहेछ ।

आज तीन वर्ष बितिसक्यो उस्ले बिहे गरेर अर्कै शहर गइन्, र म पनि आफ्नो बाटो लागेँ। जीवनको दौडमा, काम, जिम्मेवारी, अनि परिवारका कुरा गर्दै, हामी दुवैले एकअर्कालाई सम्झन बन्द गर्न खोज्यौँ। तर याद याद त कहिल्यै आदेश मान्दैन रहेछ।
आज ऊ पनि विवाह गरेकी छ, म पनि।

ऊ अब कसैकी श्रीमती हो, म पनि कसैको श्रीमान। हामी दुवैको संसार फरक छ, तर कहिले–कहिले साँझको हावा चल्दा, वा मोबाइलमा पुरानो गीत बज्दा, मनले सोध्छ समय बित्यो। “किन अझै ऊ यादमा आउँछे ?”

शायद प्रेम सकिँदैन, केवल रुप बदल्छ। ऊ मेरो जीवनको भाग रहिन्, कथा बनेर। कहिलेकाहीँ मन लाग्छ यदि फेरि भेट हुन पायौँ भने, न आँसु आउँछ, न शब्द। केवल मुस्कान दिँदा भैहाल्छ, जस्तो कुनै सपना कहिल्यै देखेको थियौँ।

र त्यसपछि म सम्झन्छु उस्को जीवन अघि बढेको छ। ऊ खुसी रहोस्, म पनि रहूँ। तर जब रात गहिरिन्छ, अनि घडीको टिक–टिक सुनिन्छ, मनले बिस्तारै फुसफुसाउँछ

तर कहिलेकाहीँ साँझमा जब रेडियोमा पुरानो गीत बज्छ “किन सम्झना आउँछ…” म नचाहँदै पनि आँखामा त्यो चौतारी, त्यो हावा, र त्यो चिया सम्झन्छु।

मनले त बुझिसकेको छ ऊ अब मेरो होइन। तर हृदयले अझै पनि त्यस रातको मौनता सम्झन्छ। शायद प्रेम कहिल्यै हराउँदैन केवल अधुरो भएर मनमा बस्दो रहेछ ।

– प्रकाशित/सम्प्रेसितः सबै शब्द, बिचार मालका व्यक्तिगत अनुभव र भोगाईमा आधारित छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट