SKIP THIS

प्रदेश युवा परिषद्

गहुँ खेतीको उर्वर भूमिका रुपमा परिचित बन्दै कञ्चनपुरको सुन्दरीफाँटा

किसानले प्रयोग गर्न थाले आधुनिक यन्त्र, उपकरण, उन्नत जातको गहुँको बीउ र मल

गहुँ खेती
प्रतिकारात्मक तस्बिर

कञ्चनपुर: कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटा गाउँ गहुँ खेतीको उर्वर भूमिका रुपमा परिचित भएको छ। गहुँ खेतीका लागि किसानले आधुनिक यन्त्र, उपकरण, उन्नत जातको गहुँको बीउ र मलको प्रयोग गर्न थालेपछि प्रतिवर्ष गहुँको उत्पादन बढ्दो रुपमा रहेको छ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चौधरी थारू गहुँ ब्लक समिति गठन गरेपछि यस क्षेत्रले गहुँ उत्पादनमा कोल्टे फेरेको छ।

विगतमा खानका लागि मुस्किलले पुग्ने जग्गामा हाल पर्याप्त गहुँ उत्पादन हुने गरेको छ। खानका लागि घरमा राखेर किसानले गहुँ बेच्नसमेत थालेका छन्। कृषि यन्त्र र उपकरणको प्रयोगले गहुँको उत्पादनमा वृद्धि भएको ब्लक समितिका संयोजक श्रीराम चौधरीले बताए। “गोरुको प्रयोगले गहुँ लगाउँदा खेतमा राम्ररी नउम्रने र माटोलाई मसिनो बनाउन नसक्दा समस्या हुन्थ्यो”, उनले भने, “हाल गहुँ खेतीका लागि आधुनिक प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन बढेको छ। पहिला खानकै लागि ठिक्क हुने गहुँ बेचेर घर खर्च चलाउँदै आएका छौँ।”

कृषिमा आधुनिक यन्त्रको प्रयोग हुन थालेपछि ब्लकमै आबद्ध सविनादेवी चौधरी निकै खुशी देखिनुभएको छ। “कार्यबोझ घटेको छ”, उनले भने, “बचेको समयमा तरकारी खेती गरेर अतिरिक्त आम्दानी हात पार्दै आएका छौँ।”

विगतमा  हलोको प्रयोग गरी खेत जात्ने कार्य गर्दा ठूलाठूला डल्ला आउने गरेको थियो। महिलाले मिहिनेतका साथ फोड्नु पर्दथ्यो। डल्ला फोड्ने विषयमा श्रीमान्श्रीमतीबीच झगडासमेत हुन्थ्यो। “मनमुटाव बढ्दै जाँदा हातापाइसम्म आइपुग्दथ्यो”, उनले भने, “हलो जोत्ने श्रीमान्का लागि पानी र खाना बोकेर खेतमै पु¥याउनुपर्ने बाध्यता थियो। त्यो सबै कृषि औजार र यन्त्रको प्रयोगले हटाइदिएको छ । विगतको जस्तो खेतीपातीकै लागि झगडा हुँदैन। दुई दिन लाग्ने कार्य एक घण्टामै सकिन थालेको छ । पावर टिलरको सहायताले खेत जोत्ने भएकाले खेतमा डल्ला आउँदैन।”

परियोजनाअन्तर्गत ब्लकमा आबद्ध किसानले तालीमसमेत पाएका छन्। रोग किराको निदान गर्न र माटो सुहाउँदो बीउको छनौट गर्न किसान सक्षम भएका छन्।

खेतमा विगतको जस्तो आकासेपानीको भर पर्नुपर्ने दिनको अन्त्य भएको छ। खेतखेतमा सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर जडान गरिएका छन्। आवश्यकताका आधारमा किसानले खेतमा सिँचाइ गर्दै आएका छन्। गहुँ खेतमा छर्ने कार्यदेखि गहुँ थ्रेसिङ गरी भकारीसम्म राख्ने कार्य कृषि औजार र यन्त्रको सहायताले गरिँदै आएको छ।

“खेती लगाउन निकै समय खर्चिनु पर्दथ्यो”, किसान धनबहादुर चौधरीले भने, “पुरुषको तुलनामा महिलालाई कार्य बोझ अधिक थियो। काट्ने कार्यदेखि गहुँको दाइँ लगाउने कार्यसम्म महिलाले गर्दै आएकामा अब त्यो काम कृषि यन्त्र र औजारले गर्न थालेको छ।”

गोरुको ठाउँमा किसानले पावर टिलर राखेका छन्।  उनका अनुसार प्रतिपरिवारले पहिला १० कट्ठा जग्गामा पाँच क्विन्टलसम्म गहुँको उत्पादन लिँदै आएका थिए। हाल गहुँको उत्पादन बढेर १० कट्ठामा १० देखि १५ क्विन्टलसम्म गहुँको उत्पादन हुन थालेको छ।

कृषि औजार र यन्त्रको प्रयोगसँगै समयमै सिँचाइ र उन्नत जातको गहुँको बीउको प्रयोगले उत्पादनमा वृद्धि गरेको उनको भनाइ छ।

वडाध्यक्ष मोहनबहादुर बस्नेत कृषि उपकरण पाइएपछि यस क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार आएको बताए। कृषिमा प्रतिवर्ष पाइने अनुदान रकम गाउँका किसानले सदुपयोग गरेका छन्। “समूह, पकेट र ब्लकमा परिणत भएका किसानले आधुनिक तरिकाले खेती गर्न जानेका छन यही नै खुशीको कुरा हो”, उनले भने, “थारू समुदायका बसोबास रहेको सुन्दरीफाँटाका किसान मिहिनेती समेत छन्।

मिहिनेतकै परिणामस्वरुप तरकारी र गहुँबालीमा यो गाउँ चिनिन थालेको छ।” कृषि ज्ञान केन्द्र र वडा कार्यालयका तर्फबाट पौरखी किसानलाई अनुदान उपलब्ध गराउने कार्य निरन्तर रुपमा अगाडि बढ्ने उनले बताए।

सुन्दरीफाँटा नाम जस्तै सुन्दर कार्यक्रम दिने सोच छ । यस गाउँलाई गहुँ बालीसँगै तोरी र तरकारी उत्पादन बढाउका लागि कार्यक्रम सञ्चालन गर्ने कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर बिष्टले बताए।

कृषि उत्पादनलाई आयआर्जनसँग जोेडेर रोजगारी सृजना गर्ने कार्यमा लाग्ने उनी बताउँछन्। “उपकरण र औजारको भरपुर रुपमा प्रयोग गरी कृषि उत्पादन र उत्पादकत्व बढाउनमा निरन्तर रुपमा लाग्नोस्”, उनले भने, “उत्पादन बढेसँगै यसलाई जोनमा परिणत गछाैं।”

ब्लक समितिका सदस्य गयाप्रसाद चौधरीका अनुसार परियोजनाअन्तर्गत गठन भएको थारू गहुँ ब्लक समितिलाई गत वर्ष कृषि ज्ञान केन्द्र कञ्चनपुरबाट पावर टिलर १२, पम्पसेट २३, जिरो भेटर दुई, विद्युतीय मोटर १३ वटा जिआई पाइप ५८४ फिट, जिई जाली पाइप १६, बलसेट १६ वटा उपलब्ध गराइएको थियो। जसका लागि कूल रकम ४८ लाख ७८ हजार ३७५ खर्चिएको थियो। त्यसमा कृषि ज्ञान केन्द्रबाट २३ लाख दुई हजार ५६१ र जनश्रमदान २५ लाख ७५ हजार ८१४ लागेको थियो।

चालु आवमा थारू गहुँ ब्लकलाई बोरिङ जिआई पाइप ७० फिट, पम्पसेट इन्जिन तीन, जिआई जाली पाइप तीन, जडान सामग्री वाल सेट तीन, पावर टिलर ती, रिपर तीन, गहुँ चुटने थ्रेसर एक, स्प्रेयर ट्याङ्की १७, जिङ्क मल १९३ किलो, गहुँको बीउ २३ क्विन्टल, विषादी ३५ लिटर उपलव्ध गराइएको छ।

जसका लागि कृषि ज्ञान केन्द्रबाट नौ लाख ६८ हजार ९४९ र जनश्रमदान सात लाख ७४ हजार ९४७ रकम लागेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार