‘म’ जन्मभूमि अनि त्यो समय !

'म' लाई मेरो पहिचान दिने जन्मथलोलाई सम्झिने एउटा सानो प्रयास...

‘म’ जन्मभूमि अनि त्यो समय !

'म' लाई मेरो पहिचान दिने जन्मथलोलाई सम्झिने एउटा सानो प्रयास...

दनौज जात भइरहेको स्थान भटना

सुरु गरौँ म लाई मेरो पहिचान दिने जन्मथलोलाई सम्झिने एउटा सानो प्रयास बाट !  सायद मैले भन्दा पनि आफ्नो, आफू जन्मेको जन्मथलो, जन्मदिने यो सुन्दर संसार देखाउने भगवान् रुपी आमा बुवा, हरेक सुख दुःखका सहयात्री दाजुभाइ दिदी बहिनी, घर परिवार, गाउँ, समाज, सहर, क्षेत्र मात्र नभई आफ्नो स्वर्ग जस्तो देश नेपाललाई छोडेर कयौँ किलोमिटर टाढा रोजगारीको सिलसिलामा बाध्यताले होस या आफ्ना रहरले बिदेसिएका, बिदेसिन पुगेका दाजु,भाइ दिदिबहीनीहरु ले सम्झिने त्यो अनुभूति अझै मजबुत अनि अझै आनन्दित र मर्यादित हुन सक्छ । तथापि मैले पनि मेरो मन मस्तिष्कले सम्झिने केही यादगार पलहरू सेयर गर्ने प्रयास गरिरहेको छुँ ।

मैले मेरो जन्मथलो, आमा बुवा, दाजुभाइ, साथी बन्धुहरूलाई सम्झिने यात्राको थालनी हुन्छ । जब म आज भन्दा ७ वर्ष पहिले केही गर्ने, पढ्ने जान्ने अनि सिक्ने सिलसिलामा मेरो जन्म स्थान बैतडी जिल्लाको पुर्चौडी नगरपालिका वडा नं. ४ भटना सँगको बस, मात्र दुरी केही टाढा करिब हन्ने अनि बसको यात्रा लगाएर १० घण्टाको यात्रा तय गरी कैलालीको धनगढी आई पुगेको थिए । त्यो १० घण्टे यात्रा तय गरिसकेपछि सायद मेरो जन्मभूमि, साथी बन्धु अनि घरपरिवार सँग १० पटक पनि भेट भएको छ कि छैन ? ठ्याक्कै ठम्याउन गाह्रो भयो ।

यो भन्दा पहिले पनि आफ्नो गाउँ, समाज, आमा-बुवा, भाइहरू, काका काकी लगायत दिदीबहिनी र म सँग भावनात्मक हिसाबले जोडिएका चिना-परिचय भएकाहरूको याद नआउने भने पक्कै हैन, तर अहिले सायद यही समयमा चैते दसैँ हुनु र चैते दशैको साँझ, भोलिपल्ट एकादशीको दिन हाम्रो गाउँमा लाग्ने मेला अनि त्यहाँका प्रसिद्ध शक्ति पिट मालिका, महादेव, पहरौल, निमुन लगायतका दर्जनौँ स्टकुल देवताको धूमधामका साथ दमाहा, झ्याली, भोकर पञ्चेबाजा आदिको आनन्दित रौनक साथमा गरिने विशेष पूजा आराधनाको मनोरम दृश्य र अविस्मरणीय अनि बेलाबेला जिस्काई रहने ध्वनिहरूको कम्पनको यादले मलाइ केही शब्दमा कोरी सेयर गर्न सम्म पुर्‍याएको छ ।

चैते दसैँ यसपालि त वैशाखमा परेछ । पहिले पनि कहिले चैतमा त कहिले वैशाखमा परिरहन्थ्यो । यसो किन भएको, बा, बजै हजुरबुवा भनी सोध्दा यो सबै तिथि मिति समयको खेल हो बाबु भन्ने जवाफ आउँथ्यो । हुन पनि हो रहेछ, हेर्नुस् त सात वर्ष पहिले यस्तै, त्यस्तै अनकौं प्रश्न जिज्ञासा र साथिहरुसंगको रमाइलो  (दनौज जात) आर्थात (चैते दसैँ र एकादशीको साँझ लाग्ने मेला) मा बजाइने ती दमाहा लगायतका बाजाको धुन सँग रमाई रहने मान्छे म आज शब्दमार्फत सम्झी रहेछु  । सम्झिदा पनि आङै जिरिङ पार्ने ती दाहिने दमाहा बाट निस्केका अदृश्य कम्पनहरू जो रेर्कडर, क्यामेरा, मोबाइलले समेत रेकर्ड गर्न सक्दैन…।

तपाई, मेरो गाउँ  भटनामा (दनौज जात) को सुरुवात शिवरात्रिको साँझ बाट सुरु हुने गर्छ । शिवरात्रिको साँझबाट दनौजजात को दिन चैते दशमी, एकादशीको दिनसम्म आइपुग्दा हरेक दिन, स्थिानिय भाकामा डेउडा, फाग, दमाहा लगायतको बाजाको साथमा गाउँको परिक्रमा दैनिक जसो भईनै रहन्थ्यो, भइरहन्छ र भइरहेको पनि छ ।

मुख्य दनौज जात दुई दिन हुन्छ । दशमीको साँझ काकाल काट्ने (रतेडी) भने त्यसको भोलिपल्ट (दिशेडी) सँगै शिवरात्रिको साँझ देखी सुरु भएको त्यो झस्काइ रहने दृश्यहरूले पुरा एक वर्षको लागी विश्राम लिन्छन् ।

तर, मेरो सम्झिने यात्रा चलिरहेको छ । जब शिवरात्रिको साँझ देखी सुरु भएको यात्रा  काकल काट्न जाने दिन अन्तिम तर विशेष दिन । त्यति बेला सम्मको सिलसिलामा बाहिर गएका जो जहाँ भए पनि सम्भवतः घर गाउँमा पुगी सकेका हुन्थे यहाँ सम्मकी बसाई सरी तराई झरेका अनि विदेश सरेकाहरू समेतको गाउँमा उपस्थिति हुन्थ्यो त बस त्यही दनौज जातको लागी । तर म भने मात्र १० घण्टाको दुरीमा पनि वर्षौँ सम्म जान सकेको छैन । सायद सुरुमा तराइ झर्दा सानै थिए, नयाँ सहर पाएको थिए र पो त्यति धेरै याद आउने थिएन । तर अब भने बिस्तारै बुझ्दै छु, कि को आफ्नो को बिरानो चिन्दै गएर पनि होला घरबाट मम्मीले फोन गरेर सोझै घर आइज भनी बोलाएको र बाबाले पनि, कहिलेकाहीँ  त घरमा आएनि हुन्छ नि ! यता के-के परिवर्तन पनि भई सक्यो हेरेर गए काम गर्दा परिवर्तन लेख्न अनि देख्न पनि त पाइन्थ्यो ? भनेर जिस्काउँदै बोलाएको मेरै मायाँलेपो रहेछ भनेर, बुझ्दै छु र पो गाउँ सम्झिरहेको छुँ । तपाइलाई पनि आफ्नो गाउँको सम्झना आइरहँदो हो है जहाँ भए पनि ?

सम्झिँदै गर्दा एउटा रमाइलो भन्ने की कस्तो मान्ने ? दनौज जातको रतेडिको दिन काकल काट्न जाँदै गर्दा मेरो ठाउँ भटनामा टोलै पिच्छे बस्ने समुदायको पछाडि उपनाम राखेका हुन्थे साथीहरूले विशेष गरी (तोलिगाउँ बाट आएका हरू (खस्य), भटनाका (भटानी) अनि बागाँबाट आउने साथीहरू (बगाल) भन्ने अरे यही भन्यो, जिस्कायो भनेर साथीहरू कयौँ पटक त झगडा पनि गर्ने गर्दथे अहिले ती साथिहरुपनि गाउँ सम्झिँदै बसेका छन् कि ? आफू स्वयम त्यहाँ होलान्, नहोलान् खै ? या आजकल त्यस्तो हुन्छ कि हुँदैन जिस्काउँदै रमाउँदै गर्ने त्यो सद्भाव माया बाँड्ने हजारौँ स्थिानियहरुले मनाउने दनौज जातको अहिलेको स्वरूप के कति बदलिएको होला नजिकैबाट महसुस नगरेको पनि सम्झिँदै गर्दा वर्षऔं भइसके छ ।

रतेडिमा त गाउँ किनारको सल्लाघारीबाट धूमधामका साथ सल्ला ल्याएको सल्ला मन्दिरहरूमा चढाउँदै, दमाहा, धामी झाक्रीमो आरिस, डेउडा, फाग, रमाइलो किनमेल मेला सँगै रात सकिएको पत्तै मिल्थेन, भने त्यस्तै दिसेडीमा पनि मन्दिरहरूमा पूजा आराधना सँगै अन्य विभिन्न सांस्कृतिक क्रियाकलाप, नाचगान, किनमेल सँगै विधिपूर्वक दनौज मेला दिसेडिको साँझ अबेर सकिन्थ्यो र अघिल्लो रात देखी नसुतेका आराम नगरेकाहरू पनि रमाउँदै माया सद्भावना, विभिन्न सन्देश, घरमा चाहिने आवश्यक सामाग्री किनमेल गरी घर फर्किन्थे ।

आज आउँछु, भोलि आउँछु, यो बेला आउँछु, त्यो बेला आउँछु भन्दै मम्मीलाई अल्झाएको, स्कुले जीवनका साथीहरूसँग भेट नभएको, आफू जन्मेको गाउँका ती फराकिला फाटा, उचा-अग्ला डाडाहरु मा लडीबुडी नखेलेको, गाउँ नडुलेको अनि दनौज जातमा बजाइने दाहिने दमाहाको त्यो कम्पन महसुस हुने गरी सहभागी नभएको वर्षौँ भए छ । सायद तपाई को पनि गाउँ, ठाउँ फरक भए पनि सम्झना भने यस्तै त्यस्तै होला है आफ्नो गाउँ परिबेसको ?

सायद मैले केही सिक्ने, केही गर्ने भनेर गाउँ सँगको दुरी बढाएकोले नै होला ती सबै मिठा पलहरूलाई “सम्झिँदै पानी छम्किँदै”
अहिले  पनि सिक्दै छु, कहिले सोचे जस्तो चाहे जस्तो, गरे जस्तो हुँदैन जीवन जति बेला ठुलो जिम्मेवारी काँधमा हुन्छ । हो अहिले म जिम्मेवार हुन कर्तव्य निष्ठ हुन सिकी रहेको छु । तपाइको पनि त्यस्तै केही होला अघि ?

अन्त्यमा स्टकुल देउता मालिका, महादेवले तपाइ, हामी सबैको रक्षा गरुन् । धन्यवाद । तपाईँले मेरो सम्झिने यत्राको प्रयासलाई साथ दिँदै म सँग-सँगै आफ्नो ठाउँ जन्मस्थान, आमाबुवा घर परिवारलाई सम्झेको त्यो अनुभूतिमा पुग्नुभयो पुनः धन्यवाद !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार