‘अहिलेको राजनीति’ : के के बिष्ट

राजनीतिमा जे देखिन्छ, त्यो हुँदैन, जे हुन्छ त्यो देखिँदैन !

‘अहिलेको राजनीति’ : के के बिष्ट

राजनीतिमा जे देखिन्छ, त्यो हुँदैन, जे हुन्छ त्यो देखिँदैन !

KK Bista
राजनीतिमा जे देखिन्छ, त्यो हुँदैन, जे हुन्छ त्यो देखिँदैन । यही भनाइको नियतिमा नेपाली राजनीति दशकौँदेखि चलिआएको छ, र अहिले पनि त्यसकै निरन्तरता छ । एकातिर कोरोनाको घेराबन्दी अर्कातिर  पुनः राष्ट्रिय राजनीतिमा भित्रभित्रै खिचडी पाक्नु विडम्बनापूर्ण छ ।
राजनीतिक दल र तिनका नेताहरूले विभिन्न शक्ति केन्द्रबाट कतै धम्की त कतै प्रलोभनका आकाशवाणी पाइरहेको सहजै अनुमान लगाउन सकिन्छ ।
एकातिर यस्तो परिस्थितिमा दबाब र प्रलोभन आउनु स्वाभाविक हो तर नेपाली राजनीति र कूटनीतिले आफ्नो स्वाभिमान र कौशलतालाई राष्ट्रको हितमा प्रयोग गर्न सक्छ कि सक्दैन । त्यो चिन्ता र चासोको विषय हो । अझै एक कदम अगाडि बढेर भन्ने हो नेपाली राजनीति र कूटनीतिको अग्नि परीक्षा आवश्यक थियो र त्यो समय अहिले आयो । यी घटनाक्रमलाई भूराजनीतिक एवम् अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्ने प्रयास गरौँ ।
विश्व राजनीतिक परिवेशको लेन्सबाट हेर्ने हो भने अब नेपाल एसियाको भूराजनीतिक चलखेलको नयाँ केन्द्र बन्दै छ । त्यो भारतसँगको सीमा विवादले मात्र नभई विश्व राजनीतिमा उदीयमान दुई भीमकाय मुलुक चीन र भारतको बिचमा रहनुले हो । तेस्रो विश्वयुद्ध मानौँ या भनौँ, अर्थात् कोरोनापछि विश्व शक्ति सन्तुलनमा परिवर्तन आउने नै छ।  त्यसकै पूर्व तयारीको उपज नेपाललगायत विश्वका केही दर्जन मुलुकको आन्तरिक राजनीतिभित्र केही समययता चलिरहेका चर्चित राजनीतिक घटनाक्रम हुन् ।
स्मरण रहोस्, प्रथम विश्वयुद्धपछिको विश्व शक्ति सन्तुलनले युरोपका जर्मनी, फ्रान्स र बेलायतजस्ता देशमा भएको आर्थिक शक्ति केन्द्रलाई अमेरिकातर्फ सारेको थियो । त्यसपछि शक्तिशाली बन्दै गएको अमेरिका दोस्रो विश्वयुद्धपछि झन् शक्तिशाली बन्दै राजनीतिक शक्तिको केन्द्रसमेत बनेको थियो । तत्कालीन विश्व शक्ति सन्तुलनले अमेरिका र रसियालाई विश्व महाशक्ति राष्ट्रको रूपमा उभ्याएपछि झण्डै सन् १९४५ देखि १९९० सम्म विश्वका विभिन्न देशमा यी दुई शक्ति केन्द्रले चरम रूपमा नयाँ नयाँ रणनीतिक अखडाहरू बनाउँदा त्यसबाट पीडित भियतनाम, अफगानिस्तान, सिरिया, इराकजस्ता दर्जनौँ देशको कथा व्यथा आज हाम्रासामु छर्लङ्गै छ ।
जब रुसले नेतृत्व गरेको तत्कालीन शोभियत संघको विघटन भयो, त्यसपछि अमेरिका विश्वमा एकछत्र राज चलाउँदै आजको अवस्थासम्म आइपुगेको छ । अब कोरोना महामारीपछि विश्व शक्ति सन्तुलनमा बदलाव आउने निश्चित छ, त्यसकै पूर्व तयारी हो हालको अमेरिका र चीनबिचको वाक युद्ध, अनि विश्वमा नेपाल, भेनेजुएला, अफगानिस्तानजस्ता दर्जनौँ मुलुकहरूको आन्तरिक राजनीतिमा भएका अस्वाभाविक राजनीतिक घटनाक्रम ।
नेपालको सन्दर्भमा नेकपा एमाले भित्रको शक्ति संघर्ष, नेकपा माओवादी केन्द्र को सरकार परिवर्तनको संघर्ष, काँग्रेसभित्रको व्यक्तिवादी चरित्र हुँदै हाल भूराजनीतिक हलचलकै पराकम्पपन हुन् । देशका नेता बाहिरी शक्तिको कब्जामा, कार्यकर्ताहरू नेताको मुट्ठीमा र भेडा जनता कार्यकर्ताको लैलैमा लाग्दा देश कहाँ पुग्छ भन्ने ज्वलन्त उदाहरण भियतनाम, अफगानिस्तान, इराक र सिरियाजस्ता मुलुकहरूको इतिहास र अवस्थालाई हेरे पुग्छ ।
ठिक त्यही नियति र अवस्थाको पूर्व सन्ध्यामा आज नेपाल पनि आइपुगेको छ । त्यसैले नेता र यिनका कार्यकर्ताको लैलैमा लाग्ने गल्ती अब नेपाली समाजले गर्न हुँदैन, विगतमा जनताले राजनीतिमा चासो नदिँदा आज देश जटिल मोडमा पुगेको छ, अब पनि बेवास्ता गर्ने हो भने देशलाई यी नेताहरूले कल्पना नगरेको राजनीतिक दुर्घटनामा पार्छन् ।
त्यसैले जनताले निरन्तर खबरदारी गर्न जरुरी छ कसैले यो मातृभूमिलाई बैरीको पञ्जामा पुर्‍याउन भूमिका खेल्छ भने त्यो आफ्नै बाउ किन नहोस्, केस मुण्डन गराएर राजनीतिबाटै चार पाटा मुड्नुपर्छ । त्यसैले हामी मौसमी राष्ट्रवादको खतरनाक बाढीलाई देवत्व करण गर्न तँ छाड म छाड नगरौँ, कुरा सुनेर होइन, अब परिणाम हेरेर मात्र विश्वास गरौँ । नत्र देश अफगानिस्तान र सिरियाको नियतितर्फ मोडिन सक्छ ।
अन्त्यमा, देश अत्यन्तै कठिन अवस्थामा गुज्रिरहेको छ, एकातिर कोरोनारूपी घेराबन्दीको साइड इफेक्टबाट समाजमा आन्तरिक द्वन्द्वको वातावरण सिर्जना हुँदै छ भने अर्कोतिर राष्ट्रिय राजनीतिमा पाकिरहेको अस्वाभाविक खिचडीबाट देशको राष्ट्रिय जीवन नै खतरामा पर्ने देखिएको छ । सबैले आ–आफ्नो स्थानबाट कोरोनाबाट बच्न र बचाउन सक्दो सहयोग र राजनीतिक दुर्घटनाबाट बच्न खबरदारी गरौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार