तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका किसान !

रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै किसान

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका किसान !

रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै किसान

Tamatar

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन् । समूहमा आबद्ध ४० मध्ये २१ किसानले रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै आएका छन् ।

घरघरमा प्लाष्टिकका टनेलमा किसानले बोडी, फर्सी, लौका, करेला र काँक्रालगायत तरकारी उत्पादन गरी बजारमा बेच्दै आएका छन् । रासायनिक मल र विषादीको विकल्पका रुपमा किसानले तरकारी बालीमा गोठेमलसँगै जैविक मल र विषादीको प्रयोग गर्दै आएका छन् । उनीहरुले स्थानीयस्तरमै पाइने वनस्पतिबाट मल र विषादी बनाई तरकारी बालीमा छर्किंदै आएका छन् ।

दैनिक सिमलफाँटा गाउँबाट मात्रै ७० क्विन्टल प्राङ्गारिक तरकारी बजारमा बेच्नका लागि पठाइने गरिइएको छ । यस्ता किसानले जनही दैनिक रु चार हजार बढीको आम्दानी लिने गरेका छन् । सहजरुपमा तरकारी बेचेको पैसाले परिवारको खर्च धानिँदै आएको छ । प्राङ्गारिक तरकारीखेतीमा लागेका अधिकांश किसान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट हटाइ यस क्षेत्रमा क्षेत्रमा पुनःस्थापना गरिएका हुन् । पुनःस्थापना गरिएका परिवारसँग स्वामित्वको १० कट्ठा जग्गा छ । सोही जग्गामा ती परिवारले प्राङ्गारिक तरिकाले तरकारी खेती गर्दै आएका छन् ।

खेतीमा संलग्न किसानको आर्थिक अवस्थमा विगतका तुलनामा निकै सुधार आएको छ । “विगतमा रोजगारीका लागि भारतमा जाने गरेका युवा तरकारीखेतीमा संलग्न भएपछि घरमै बसीबसी आम्दानी गर्न थालेका छन्”, स्थानीयवासी वसन्ती देवी विष्टले भन्नुभयो, “भारतमा कमाउनेभन्दा बढी पैसा तरकारी बेचेर आउन थालेपछि अधिकांश युवाले स्वदेशमै रोजगारी पाएका छन् ।”

स्थानीय किसानले तरकारीखेतीमा देखाएको रुचिलाई ध्यानदिँदै कृषि विकास तथा पशुपन्छी विकास मन्त्रालयको प्राङ्गारिक मिसन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत अनुदान रकम उपलब्ध गराइएको छ । अनुदानस्वरुप केन्द्रले रु २७ लाख र स्थानीय किसानले प्राङ्गारिक तरकारीखेती गर्नका लागि रु तीन लाख रकम बेहोरेका छन् ।

अनुदान रकम पाएका समूहमा आबद्ध किसानले २४ प्लाष्टिक टनेल, २६ जैविक विषादी तयार गर्ने ड्रम, सय क्रेट, मल्चिङ, ग्रिननेट, थोपा सिँचाइ, स्प्रे टङ्की र भकारो सुधारमा रकम खर्च गरेका छन् । योसँगै सिँचाइका लागि तीन बोरिङसमेत जडान गरेका छन् । प्राङ्गारिक तरिकाले उत्पादन गरेको तरकारी भने बजारमा बेच्नका लागि निकै सास्ती हुने गरेको छ ।

“रासायनिक मल र बिषादी प्रयोग भएको तरकारीको तुलनामा देख्नमा आकर्षक र चम्किने नहुँदा बजारमा बेच्नका लागि निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको छ”, किसान नरेन्द्र धानुकले भन्नुभयो, “पसल सञ्चालकले देख्नमा आकर्षक नहुँदा ग्राहकले नरुचाउने भनेर खरिद गर्न नै मान्दैनन् ।”

जैविक मल र विषादीको प्रयोग गरी तयार गरिएको तरकारी मानव स्वास्थ्यका लागि हितकारी रहेकोलगायतका कुरा सम्झाएपछि मात्रै बिक्री हुने गरेको उहाँको भनाइ छ । तरकारी बिक्री गर्नमा समस्या आउन थालेपछि स्थानीय झलारी बजारमा आफ्नै तरकारी सङ्कलन केन्द्र र बिक्री केन्द्र राख्नका लागि किसानले पहल थालेका छन् । “प्राङ्गारिक तरकारीको महत्व बुझाउन नसक्दा तरकारी बजारमा बेच्न गाह्रो भएका बेला कोरोना महामारीका कारण झनै समस्या भएको छ”, राजमति महराले भन्नुभयो, “बीउ नपाउँदा ढिलो गरी तरकारी रोप्दासमेत चाहेअनुसारको आम्दानी यस वर्ष पाउन सकेका छैनौँ ।”

स्थानीयवासी नरेन्द्र धानुकले भन्नुभयो, “यसले वातावरणमा प्रतिकूल प्रभाव नपार्ने भएकाले प्राङ्गारिक विधिबाट तरकारी उत्पादनमा लागेका छौँ ।” बजारमा तरकारी बिक्री गर्न लैजाँदा रासायनिक विषादी र मल प्रयोग भएको तरकारीकै मूल्यमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो ।

प्राङ्गारिक तरकारीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पर्दैन भन्ने कुरा ग्राहकलाई बुझाउन सचेतनाका कार्यक्रम अगाडि बढाइएको स्थानीयवासी बिन्दु साउदको भनाइ छ । “रासायनिक मलखाद र विषादीको प्रयोगबाट उत्पादन बढाई खाद्यसङ्कट कम गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अत्यधिक रासायनिक विषादी र मलखादको प्रयोगबाट माटो, वातावरण, पानी र मानव स्वास्थ्यमा पर्न गएको प्रतिकूल प्रभावलाई कम गर्न नसकिने भएकाले प्राङ्गारिक तरिकाले गरिएको तरकारीखेतीमा जोड दिनुपर्छ भन्ने कुरालाई किसान र ग्राहकलाई बुझाउँदैछौँ ।”

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार