दुई वर्ष देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या घट्दै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुर:  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटेका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या घट्दै गएको हो।

आर्थिक वर्ष २०७७-७८ मा दुई हजार ९३५ पर्यटकले निकुञ्ज घुमफिर गरेका छन्। निकुञ्ज घुमफिर गर्नेमा अधिकांश आन्तरिक पर्यटक छन्। थोरै मात्रै विदेशी पर्यटक निकुञ्ज घुम्नका लागि पुगेका छन्। कोरोना सङ्क्रमणको डरले थोरै मात्रै पर्यटक निकुञ्ज घुम्नका लागि पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी रवीन चौधरीले बताए।

आव २०७६/७७ मा एक हजार ७७५ पर्यटकले निकुञ्ज घुमफिर गरेका थिए। “आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा पर्यटक बढेका छन्”, अधिकृत चौधरीले भने, “विगत वर्षको तुलनामा त्यो सङ्ख्या आधाले कम छ ।” कोरोना महामारीका कारण निकुञ्ज घुमफिरका लागि आउने पर्यटक घटेको उनले बताए।

आव २०७५-७६ मा निकुञ्जमा छ हजार ६९ पर्यटकले निकुञ्ज घुमफिर गरेका थिए। आव २०७४-७५ मा चार हजार ७४०, आव २०७३-७४ मा दुई हजार ६४० पर्यटकले निकुञ्ज घुमेका थिए। आव २०७७-७८ मा मा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु आठ लाख ६२ हजार ९२४ रकम सङ्कलन भएको छ। पर्यापर्यटन, दण्ड जरिवानालगायत अन्य गरी सोही अवधिमा निकुञ्जले तीन करोड ९९ हजार २७२ राजश्व सङ्कलन गरेको छ।

आव २०७६-७७ मा पर्यापर्यटनबाट रु आठ लाख दुई हजार ६८७ रकम सङ्कलन भएको थियो । पर्यापर्यटनसहित अन्य गरी रु एक करोड ३४ हजार ७८५ राजश्व निकुञ्ज कार्यालयले सङ्कलन गरेको थियो। घुमफिरका लागि आउने पर्यटकलाई तोकिएको शुल्क लिई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न लगाई निकुञ्जमा प्रवेश दिइने गरिएको छ। निकुञ्जमा घुमफिरका लागि जीप र हात्ती सफारीको व्यवस्थासमेत गरिएको छ।

निकुञ्ज घुमफिर गर्न आउने नेपाली नागरिकलाई ५६ रुपैयाँ ५० पैसा, सार्क मुलुकभित्रका नागरिकलाई रु ५६५, विदेशी नागरिकलाई रु एक हजार १३० प्रवेश दस्तुर निर्धारण गरिएको छ। दश वर्षमुनिका बालबालिकालाई भने निकुञ्ज घुमफिर गर्दा दस्तुर नलाग्ने व्यवस्था गरिएको छ। निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसेमैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, निलगाई, चितुवा, चित्तल, लगुना, बँदेल, खरायो र विभिन्न प्रजातिका चरा पर्ने गरेका छन्।

घाँसेमैदान व्यवस्थापन, मचानको व्यवस्था, वनपथ निर्माण, पुलपुलेसा मर्मतकार्य गरी पर्यटकको आवागमनलाई निकुञ्जमा सहज बनाइएको छ। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङ्गेको सबैभन्दा ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघको घनत्व र दुर्लभ पशुपक्षी तथा वनस्पतिका लागि प्रसिद्ध छ। नेपालको तराईका संरक्षित क्षेत्रहरुमा रहेको घाँसेमैदानमध्ये शुक्लाफाँटा घाँसेमैदान सबैभन्दा ठूलो छ।

क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ। निकुञ्जले पर्यटकको सुविधाका लागि हात्ती, गाडी सफारीसँगै ठाउँठाउँमा जीवजन्तु र प्रकृतिको मनोरम दृश्य नियाल्नका लागि मचानको व्यवस्थासमेत गरेको छ। निकुञ्ज घुमफिरका लागि पुग्ने पर्यटकले छुटाउनै नहुने क्षेत्रका रूपमा शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, हिरापुरफाँटा क्षेत्र, झोलुङ्गे पुल र कालिकिच ताल रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार