‘म मरेको दिन’ – कविता

'म मरेको दिन' - कविता

“म मरेको दिन”

खै किन लाग्छ म मरेको दिन अनौठो बिहान हुनेछ
सूर्यका चम्किला किरणहरूलाई कालो मडारिएको बादलले घाटी निमोठे जस्तो
कोइलीको त्यो मीठो कुहुकुहुको बोलिलाई कागको चर्को र तितो बोलिले दबाए जस्तो
झुल्किने चाहाना हुँदाहुँदै पनि बादलका ती अँध्यारा कोठाहरू भित्र कुण्ठित घाम हुनेछ।
खै किन लाग्छ म मरेको दिन अनौठो बिहान हुनेछ

चारैतिर सबैका घरमा कुराकानी ख्यालठट्टाको रौनक तर मेरो घर मात्रै त्यस दिन सुनसान हुनेछ
म ज्युँदो हुँदा कुरा काटेर दिन बिताउनेहरूको मुखमा ” सारै राम्रो मान्छे थियो” भन्दै मेरै बयान हुनेछ
मेरो शरीरै भरी ओढाइने छन् अनेकौँ थरिका कपडाहरू र ती कपडाहरू भरी लेखिएका शब्द रामराम हुनेछ
मेरा बाबा र आमाका आँखा आशुले टम्म अनि घाट छिटो लैजान मेरा आफन्तहरूको धूमधाम हुनेछ

जब मेरो मृत शरीर काँधमा उठाइ बाटो लगाइने छ पछाडि मलामी जानेहरूको लाम हुनेछ
मलामीहरूको लस्कर त लामो देखिनेछ तर त्यो बाटो र त्यो भिड खै किन हो किन सुनसान हुनेछ
धेरै अन्न मिसाएर एक कट्टा टन्न बनाइने छ र मेरै नाममा बुर्की भन्दै चोक चोकमा अन्न दान हुनेछ
मेरो आत्मा मेरो कोठाको त्यही बेडमा सुतिरहने छ अनि मेरो सिरानी भने चिहान हुनेछ
खै किन लाग्छ म मरेको दिन अनौठो बिहान हुनेछ।

– हेमराज जोशी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार