आज ७२औं प्रजातन्त्र र छैटौँ निर्वाचन दिवस मनाइँदै, यस्तो छ महत्त्व ?

आज ७२औं प्रजातन्त्र र छैटौँ निर्वाचन दिवस मनाइँदै, यस्तो छ महत्त्व ?
प्रकाशित : :

धनगढी : आज ७२औं प्रजातन्त्र दिवस । सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

दिवसका अवसरमा शुक्रबारदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ भने देशैभर स्वेच्छिक रुपमा पनि कार्यक्रम आयोजना गरिएका छन् ।

विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।

  • छैटौँ निर्वाचन दिवस : ‘निर्वाचनमा सबै सधैँ सँगै’

‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने मूल नाराका साथ शनिबार छैटौँ निर्वाचन दिवस मनाइँदैछ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै यस वर्षको निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन लागिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदातालाई शुभकामना दिँदै आगामी स्थानीय तह निर्वाचनमा स्वतः स्फूर्त सक्रिय एवं उत्साहजनक रूपमा सहभागी हुन आह्वान गरेका छन् । स्थानीय तहको निर्वाचन तीव्र तयारीकै बीचमा यसपटक निर्वाचन दिवस’ मनाइँदैछ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा हुने गरी घोषणा भइसकेको छ । विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।

आयोगसँग निर्वाचन व्यवस्थापनका साढे ६ दशकभन्दा लामो सफल प्रेरणादायी अनुभव र गौरवमय इतिहास छ । मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।

आयोगले निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनियता प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता आवधिक निर्वाचन, बालिग मताधिकार र जनताको प्रतिस्पर्धात्म बहुदलीय शासन प्रणालीको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी आयोगले कुशलतापूर्वक सम्पादन गरेको छ ।

नेपालमा संविधान जारी भएपछि विसं २०७४ मा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन तथा यसपछि सम्पन्न भएका उपनिर्वाचन र राष्ट्रिय सदस्य निर्वाचनबान देशभर करिब ४१ हजार ७०० जनप्रनिधिति शासकीय प्रणालीमा सहभागी हुन सफल भएका छन् । निर्वाचन प्रतिनिधि छान्ने प्रकृया मात्र नभई जनतालाई शक्तिशाली बनाउने लोकतन्त्रको मेरुदण्ड पनि हो ।

पछिल्लो समय खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुशरण र सामाजिक चेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक छ ।

प्रमुख आयुक्त थपलियाले आयोगको नीतिगत व्यवस्था कार्यान्वयनमा ‘निर्वाचन आयोगको नेतृत्व सवै सरोकारबालाको दायित्व’ भन्ने मूल मन्त्रालय आत्मसात गरी निर्वाचनमा सहभागी जनाउन सम्पूर्ण सरोकारवालालाई आग्रह गरेका हुन् ।

 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट