विश्वकै स्वस्थ, सुन्दर र सुखी मानिस

हुन्जाबाट हामीले के सिक्ने त ?

उत्तरी पाकिस्तानको हिमाली काखमा प्राकृतिक छटाले सिँगारिएको एउटा निकै सुन्दर उपत्यका छ, हुन्जा।

उत्तरी पाकिस्तानको हिमाली काखमा प्राकृतिक छटाले सिँगारिएको एउटा निकै सुन्दर उपत्यका छ, हुन्जा। हुन्जा उपत्यका पाकिस्तानको एक प्रमुख पर्यटकीय गन्तव्य पनि हो। यस हुन्जा उपत्यका जति सुन्दर छ, त्यत्ति नै सुन्दर यस उपत्यकामा बसोबास गर्ने लगभग ८७ हजार बुरुसो आदिवासी छन्। विभिन्न स्रोतका अनुसार यस मनमोहक उपत्यकामा बस्ने बुरुसो आदिवासीहरू विश्वकै स्वस्थ, सुन्दर र सुखी मानिस मानिन्छन्।

यहाँका मानिसहरू निकै सुन्दर छन्, उत्तिकै स्वस्थ र दीर्घायु पनि। धेरैलाई अचम्म लाग्ने कुरा के भने ६० वर्ष पार गरेका यहाँका महिलाहरूले समेत बच्चा जन्माउन सक्छन्। ९० वर्षका मानिसहरूसमेत बाबु बन्छन्। ७०, ८० वर्ष कटेका मानिसहरू ४०, ५० वर्षका जस्ता देखिन्छन्। यहाँका मानिस शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि निकै शक्तिशाली छन्। सामान्यतया यहाँका मानिसहरू १२० वर्षसम्म यहाँ गर्छन्। यस जातिमा अझसम्म कसैलाई पनि क्यान्सर रोग देखापरेको छैन।यहाँका मानिसहरू बिरलै बिरामी हुने गर्छन् ।

त्यसैले अब प्रश्न उठ्न सक्छ, हुन्जा आदिवासीको स्वास्थ्य र सुन्दरताको रहस्य के हो त ? यो धेरैका लागि जिज्ञासाको विषय हो।

वातावरण र जीवनशैली ?

छोटो शब्दमा भन्ने हो भने हुन्जा उपत्यकाको वातावरण र हुन्जाको जीवनशैली नै उनीहरूको स्वास्थ्य तथा दीर्घायुको रहस्य हो। चिसो स्वच्छ वातावरणमा प्रकृतिमैत्री रहनसहनमा बस्ने तथा उही वातावरणमा पैदा भएका अग्र्यानिक अन्न तथा फलफूलहरू सेवन गर्ने मानिसहरू स्वस्थ तथा दीर्घायु हुने कुरा वैज्ञानिकहरू बताउँछन् ।

हुन्जा वातावरण ?

हिमालको काखमा अवस्थित हुन्जा उपत्यकाको वातावरण चिसो र स्वच्छ छ। यहाँको मौसम गर्मी याममा १० देखि २६ डिग्री सेल्सियस र जाडोमा २ देखि २३ डिग्री सेल्सियससम्म रहन्छ। मे महिनादेखि अक्टुबरसम्म यहाँ पर्यटकहरूको भिड लाग्ने गर्छ ।

हुन्जा जीवनशैली ?

हुन्जा आदिवासी स्वस्थ मात्र होइन, शिक्षित पनि छन्। यहाँको साक्षरता दर ९० प्रतिशत छ। प्रायः सबै युवायुवतीहरूले कम्तीमा पनि १० पास गरेका छन्। यी आदिवासीहरूमा अहिले पनि पाश्चात्य संस्कृतिको प्रभाव परेको छैन। अहिलेका नवयुवाहरू पनि पुर्खाहरूले अपनाएको पराम्परागत जीवनशैली अपनाउँछन्। यहाँका मानिसहरू बिहान सबेरै उठ्छन्। आआफ्नो कामधन्दामा लाग्छन्। उकालो ओरालो खुब पैदल घुम्छन्। दिनमा औसत १५ किमि हिँड्छन्। वसन्त ऋतुमा उपवास बस्छन्। प्राणायाम, ध्यान तथा विश्राम विधिहरूको अभ्यास गर्छन्।

उनीहरूले खानपिनमा विशेष ध्यान दिन्छन्। थोरै खान्छन्, पोसिलो खान्छन्। युवाहरूले पनि दिनमा औसत १९ सय क्यालोरी मात्र खाने गर्छन्। हुन्जाहरूले त्यही खाना खान्छन्, जसको पैदावार उनीहरू स्वयम् गर्छन्। खेतीपातीमा पेस्टिसाइडको प्रयोग यस समाजमा प्रतिबन्धित छ। हुन्जाहरूलाई निद्रा सम्बन्धी कुनै समस्या छैन। हुन्जाहरूले स्वच्छ, ताजा र पोसिलो खाना खान्छन्। दिनभरि काम गर्छन्। अनि राती मस्तसँग चैनको निद्रा सुत्छन् ।

के खान्छन् हुन्जा ?

हुन्जाहरूले आफै उब्जाएका मौसमी सागपात, अन्न तथा फलफूलहरू प्रशस्त मात्रमा खाने गर्छन्। उनीहरूले टमाटर, प्याज, लसुन, पालक, गाजर, फर्सी, फूलगोपी, बन्दगोपी तथा सलगम आदि नियमित खाने गर्छन्।यहाँ आरुका बोटहरू यत्रतत्र पाइन्छन्। आरु, आरुको गुठली, गुठलीको तेल तथा खट्टु (सुकाएको आरु), आलस तथा ओक्खर आदि उनीहरूको प्रमुख खाद्य पदार्थ हो। गर्मी याममा उनीहरूले चेरी, नासपाती, स्याउ आदि प्रशस्त मात्रामा खाने गर्छन्। उनीहरूले भोक लाग्यो भने रुखमा चढेर फलहरू टिपेर खाने गर्छन्। खाजामा पनि उनीहरूले फलफल नै खाने गर्छन् ।

अन्नमा उनीहरूले कोदो, फापर, गहुँ, जौ तथा मकै आदिका परिकार खाने गर्छन्। गहुँलाई अङ्कुरण गरेर बनाएको रोटी उनीहरूको स्वादिलो खाना हो। टुसा पलाएको गहुँमा ग्लुटिन कम हुन्छ, जसले गर्दा यस्तो गहुँको परिकार सुपाच्य हुन्छ। हुन्जा आदिवासीहरूले सिमीलाई अङ्कुरण गरेर सलादका रूपमा खान्छन् भने मुसुरोलाई दालका रूपमा ।

घरपालुवा गाई, याक, भेडा र बाख्राको मासु थोरै मात्रामा उसिनेर खाने गर्छन्। त्यसैगरी थोरैथोरै मात्रामा यस्ता घरपालुवा जनावरहरूको दुधबाट बनेको मख्खन र घिउ खाने गर्छन्। घिउलाई भुटनका रूपमा पयोग गर्छन्। पिउन र नुहाउन हिमनदीको पानी पयोग गर्छन्। हिमनदीको उमालेको पानी र टुमुरु नामक जडीबुटीबाट बनाएको हर्बल चिया खाने गर्छन्।

सङ्क्षेपमा भन्ने हो भने हुन्जाहरूको आहारविहार सात्विक, सन्तुलित र सकारात्मक छ। यो नै उनीहरू स्वस्थ, सुन्दर र सुखी हुनुको मूल कारण हो ।

हुन्जाबाट हामीले के सिक्ने त ?

स्वस्थ, तन्दुरुस्त र दीर्घायु हुन हुन्जाहरूबाट धेरै कुराहरू सिक्न सकिन्छ। सबैभन्दा पहिला मनन गर्नुपर्ने कुरा के भने स्वस्थ, तन्दुरुस्त र दीर्घायु हुनका लागि हुन्जाहरूले जे खान्छन्, त्यही त्यही खानुपर्छ भन्ने होइन। स्वस्थ र दीर्घायु रहनका लागि खानेकुरा त्यही खानुपर्छ, जुन आफ्नो आसपासका क्षेत्रहरूमा उत्पादन हुने गर्छन्। रासायनिक होइन, प्राङ्गारिक मल हालेको खेतबारीमा उब्जिएका सात्विक र सन्तुलित खाद्य पदार्थहरूको भोजन गर्नुपर्छ। सन्तुलित भोजन त्यो हो, जसमा प्रोटिन, भिटामिन, कार्वाेहाइडे«ट तथा खनिज पदार्थहरू उपलब्ध हुन्छन् । चामल, गहुँ, मुग, मकै आदि अन्न, लौका, फर्सी, करेला, टमाटर, काँक्रो, आलु, मुला आदि तरकारी, सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूलहरू आदि सात्विक भोजन हुन्।

ताजा, सुपाच्य र हल्का प्रकृतिका पदार्थहरूको शुद्ध र ताजा भोजन सात्विक भोजन हो। अत्यधिक चिल्लो, अमिलो, पिरो तथा मसालेदार भोजन राजसिक भोजन हो भने बासी, सडे–गलेको, दुर्गन्धयुक्त नशालु पदार्थहरूबाट बनेको भोजन तामसिक भोजन हो। तर ख्याल गर्नुपर्ने कुरा के भने उचित विधिविधान र नियमले सेवन नगर्ने हो भने सात्विक भोजन नै आफ्नो प्राकृतिक गुण गुमाएर राजसिक तथा तामसिक बन्न पुग्दछ। जस्तो कि शुद्ध चामलको ताजा भात सात्विक भोजन हो। तर बासी भात तामसिक भोजन हो। त्यस्तै हरियो सागपात सात्विक हो। तर बढी खुर्सानी तथा मसला हालेर बनाएको तरकारी राजसिक भोजन हो।

अर्को कुरा भोजन धेरै होइन, शरीरको आवश्यकता अनुसार खानुपर्छ। कोचीकोची खानुहुँदैन। सफा पानी प्रशस्त मात्रामा पिउनुपर्छ। चियाकफी होइन, हर्बल पेय वा ग्रिनटी पिउने गर्नुपर्छ। चियापत्ती हालेको कालो चियाले पनि शरीरलाई फाइदा गर्दैन। यसका साथै बिहान सबेरै उठ्ने कुनै न कुनै काम धन्दामा लागेर श्रमको पसिना बगाउने र राती चैनको गाढा निद्रामा सुत्ने हो भने मानिस स्वस्थ, तन्दुरुस्त र दीर्घायु हुने कुरा पक्का छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार