नेपाली पत्रकारिताबारे लेखक भानुभक्त आचार्यले दिएका १३ बुँदे सुझाव

भानुभक्त आचार्य

धनगढी : नेपाली पत्रकारिताका विषयका अध्येता तथा आम सञ्चार र पत्रकारिता अध्ययन किताबका लेखक भानुभक्त आचार्यले सन्दिप लामिछाने लगायतका पछिल्ला प्रकरणसँगै केही सन्दर्भमा नेपाली सञ्चार माध्यमले गोपनियता सम्बन्धी विषयलाई नजरअन्दाज गर्दै आएको उल्लेख गरेका छन्।

आचार्यको फेसबुकबाट साभार सुझावका बुँदा जस्ताको त्यस्तै:

१. कानुनले आरोपितलाई अपराध प्रमाणित नभएसम्म निर्दोषसरह व्यवहार गर्नुभन्छ । तर हाम्रा सञ्चारमाध्यमले तत्कालै आरोपितलाई अपराधी करार गरिहाल्छन् । हिजो सन्दिप लामिछाने, अस्ति पल शाह जस्ता हजारौं घटनाहरू छन्, जहाँ पत्रकार र सञ्चारमाध्यमले प्रहरीले औपचारिक रुपमा मुद्दा दायर नगरीकनै पीडित र आरोपितका निजी सूचनाहरू छताछुल्ल पारेका छन् ।

२. आरोपितलाई कानुनी दायरामा ल्याएर न्यायिक प्रक्रियामा लैजाने कुरामा बिमति हुँदै होइन । तर आरोप प्रमाणित नभएका दर्जनौं घटनाहरू छन्, जहाँ मिडिया रिपोर्टिङका कारणले आरोपित वा पिडित अझ पिडित भएका हुन् ।

३. विदेशतिर आरोप लाग्ने बित्तिकै त्यो व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक गर्न कानुनतः बन्देज लगाइएको हुन्छ । आरोपितलाई जनाउन प्रहरीले कुनै कोड वा संकेत दिन्छ । जस्तै ‘फलानोको घर लुटपाटमा संलग्न ककेसियन मूलको वर्ष ४० को पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।’ प्रहरीको प्रारम्भिक छानबिनले आरोप पुष्टि हुने आधार सहित अदालतमा मुद्दा चलेको अवस्थामा पनि त्यो घटनामा संलग्न व्यक्तिहरूको विवरण सार्वजनिक गरिँदैन ।

४. यदि आरोपित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक गरिएमा त्यो व्यक्तिले सफाइ पाएको खण्डमा दशौं लाख जरिवाना दाबी गरेर पत्रकार र मिडियाका विरुद्ध मुद्दा हाल्छ । त्यहाँ पत्रकार चोख्याउन प्रेस काउन्सिल वा कुनै राजनीतिक दलका कार्यकर्ता पत्रकार हुँदैनन् । तब मिडियाले जरिवामा तिर्नै पर्छ ।

५. हिजो सन्दीप लामिछानेको केसमा पीडितको जाहेरीका आधारमा सन्दीप लामिछानेका विरुद्ध जतिपनि समाचार आए त्यसलाई पुष्टि गर्ने आधार भनेको प्रहरीको गोप्य स्रोत हो । प्रहरी संगठनमा पनि यस्ता संवेदनशील सूचनाको संरक्षण गरी न्यायिक प्रकृयालाई अघि बढाउनु पर्नेमा पत्रकार र मिडियाको प्यारो हुने लालसा छ । अझ कतिपय प्रहरीले त पीडितको जाहेरीकै फोटो खिच्नै पनि दिनसक्छन् ।

६. कतिपय मिडियाले सन्दीप लामिछानेको तीन पुस्ते विवरण सार्वजनिक गरिसकेपछि उसको फोटोमा एक धर्सो कालो पोतेका छन् । मानौं, आरोपितको सबै गोपनीयता त्यही कालो धर्सोले संरक्षण गर्छ । सञ्चार संस्था र पत्रकारलाई यस्ता संवेदनशील सूचनाका बारेमा वा व्यक्तिको गोपनीयताको संरक्षणका बारेमा सोच्ने फूर्सत छैन ।

७. पल साह प्रकरणमा कतिपय मिडियाले समीक्षा अधिकारीका तर्फबाट उनका पिताले दिएको जाहेरीको कपि नै जस्ताको तस्तै सार्वजनिक गरेका थिए । पत्रकारिताको आवरणमा त्यो वैयक्तिक गोपनीयताको उल्लङ्घन एवम् सरासर अपराध हो । यसले के देखाउँछ भने हामीले सूचना पायौं भने पीडितको तीन पुस्ते पनि सार्वजनिक गर्दिन्छौं, आरोपित त दूरको कुरा ।

८. केही वर्षअघिसम्म हाडनाता करणकीका घटनामा सञ्चारमाध्यमले पीडितको नाम गोप्य राखेर आफन्तको साइनो र अन्य सबै विवरण सार्वजनिक गर्थे । उदाहरणका लागि कुनै काकाले भतिजी करणी गरेमा भतिजीको नाम गोप्य राखेर काकाको तीन पुस्ते विवरण खुलाइदिए पछि पीडितको गोपनीयता बाँकी रहन्छ ? त्यति सोच्ने फूर्सद धेरै पत्रकारलाई थिएन । धेरै वर्षको वकालतपछि हाडनाता करणीमा पीडित एवम् आफन्त दुवैको नाम गोप्य राख्न थालिएको छ ।
९. तर अझै पनि कुनै (यौन)हिंसामा पुरुष पीडित छन् र महिला आरोपित छन् भने धेरैजसो पत्रकारले पुरुषको तिनपुस्ते लेखेर महिलाको नाम गोप्य राख्छन् । यो श्राद्धमा विरालो बाँध्ने चलन अझै जारी छ ।

१०. केही वर्षअघि सम्म आरोपितलाई प्रहरीले अगाडि राखेर पत्रकार सम्मेलन गरेर पत्रकारका अघि अपराध कबुल गर्न लगाउथ्यो । उनीहरुलाई आफ्नो अनुहार छोप्न दिइँदैनथ्यो । तर विस्तारै गोपनीयताको कुरा उठेपछि प्रहरीले भारत वा अन्य देशमा झैं मखुण्डो लगाइदिन थाल्यो । तर, उनीहरुको यथार्थ विवरण जस्ताको तस्तै आइरहेछ ।

११. यौनहिंसा या पारपाचुके जस्ता मुद्दामा अदालती फैसला प्राप्त हुने बित्तिकै त्यहाँ उल्लेख भएका सबै गोप्य सूचनाहरूलाई जस्ताको तस्तै सञ्चारमाध्यममा सार्वजनिक गर्ने चलन छ । सार्वजनिक मात्रै हो र ? ती सूचना वा फैसलाहरुलाई सबैले सधैं भेट्न सक्ने गरी डिजिटल आर्काइभिङ गरिन्छ । त्यसले मानिसको जिन्दगीमा ठूलो असर पार्छ । डिप्रेसन र आत्महत्याको बाटो सम्म पुर्याउँछ ।

११. अपराधको आरोप लागेका सबैमाथि यथाशीघ्र निष्पक्ष छानबिन र सुनुवाइ हुनुपर्छ । प्रहरीले तत्कालै त्यस्ता घटनाहरूलाई न्यायिक निरुपणमा लानुपर्छ । त्यसमा दुइमतै छैन । तर, मिडियाको प्यारो हुन प्रहरी, अदालत वा अख्तियार जस्ता न्यायिक एवम अर्धन्यायिक निकायले सूचना चुहाउँदै आएका छन् । पत्रकारले जे भेट्यो त्यही छापेका छन् । सूचनामाथिको संवेदनशीलता स्वाहा । यो लापरबाही बन्द हुनुपर्छ ।

१२. अझ कतिपय भिआइपीहरू छन्, जो कसैका विरुद्ध नियतवश अख्तियारमा अनलाइनबाट बेनामे उजुरी दर्ता गराउँछन् । अनि मिडियामा फलानोको विरुद्ध यस्तो आरोप सहित अख्तियारमा उजुरी परेको छ भन्दै समाचार छताछुल्ल पार्छन् । अनि अख्तियारको उजुरी नम्बर भएपछि ‘पत्रकार’लाई के चाहियो ? उसका सात पुस्ते विवरण छ्यालब्याल । कुनै दिन यस्तो संवेदनशील विषयमा कही गम्भीरतापूर्वक छलफल भएको छ ?

१३. धेरै पत्रकार र सञ्चारमाध्यमका लगानीकर्ताहरू देशविदेश घुमेका छन् । स्वदेशी विदेशी तालिम लिएका छन् । व्यक्तिको सूचना र गोपनीयताको अधिकारका बारेमा जानकार पनि छन् । तर, कसै माथि कुनै आरोप लागि सक्दा यति लापरबाहीपूर्ण ढंगले वैयक्तिक सूचनाको कारोबार कुन देशमा हुन्छ ? भन्न सक्छन् ? अरु त अरु अलि नाम चलेका अन्तर्राष्ट्रिय मिडियाले त्यस्तै घटनामा कसरी रिपोर्टिङ गर्छन् भन्ने गुगल गरेर पढे हुने । त्यसबाट धेरै सिक्न सकिन्छ ।

नोटः म सन्दीप लामिछानेलाई व्यक्तिगत रुपमा चिन्दिन । क्रिकेट मेरो रुचिको खेल होइन । त्यसैले माथिको कुराकानी सन्दीपको पक्षपोषण गर्न लेखिएको होइन ।
यस विषयमा छलफल गरौं । सौचौं । थिति बसालौं ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार