अशक्तताको परवाह नगरी इच्छा शक्तिले व्यवसायी बनेकी दुर्गा

...सिजनमा त्योभन्दा दोब्बर तेब्बर बढी कमाइ हुन्छ।’

दुर्गाको इच्छा शक्तिका अगाडी अशक्तताले हार मान्यो र पो उनी व्यवसायी बनिन्

कञ्चनपुर : कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी ३३ वर्षीया दुर्गा चौधरीलाई शारीरिक अपांगता छ। उनको कम्मरमुनिको भाग चल्दैन।

तीन वर्षको उमेरमै पक्षघात भएर चौधरीको कम्मरमुनिको भाग चल्न छाडेको हो। शारीरिक अपांगताकै कारण उच्च शिक्षा पढ्ने धोको उनको पूरा हुन सकेन। गाउँ नजिकैको विद्यालयबाट उनले ५ कक्षासम्मको पढाइ गरेकी छन्। पाँच कक्षामाथि पढ्नका लागि गाउँ नजिकैको सनवोरा नदी तर्नु पर्दथ्यो।

ह्विलचियर गुडाएर नदी तरेर टाढाको विद्यालय पुग्न सम्भव थिएन। त्यै भएर उनको उच्च शिक्षा पढ्ने धोको पूरा हुन सकेन।

‘विद्यालय जाँदासमेत साथीसंगीले गाई गोरुजस्तै हिँड्छौं, जीवनमा के नै गर्न सक्छौं भनेर नराम्रो तरिकाले जिस्क्याउँथे’, विगत सम्झँदै उनले भने, ‘त्यसको प्रवाह गरिनँ, उच्च शिक्षा पूरा गर्ने सपना पूरा नभए पनि निरास भइन्, समाजकै अगाडि केही गरेर देखाउने दृढ सङ्कल्पमा अडिग थिए, अवसरको खोजीमा थिए, परिवारका लागि बोझ नभएर सहारा बन्ने धोको थियो।’

विसं २०६४ मा गैरसरकारी संस्थाको सहयोगमा दुर्गाले छ महिने सिलाइकटाइ गर्ने तालिम लिइन्। तालिम पाएपछि उनको दिनचर्या नै फेरिएको छ।   तालिम लिएपश्चात् संस्थाले उपलब्ध गराएको हाते सिलाइ गर्ने मेसिनले उनले गाउँघरमै सिलाइको कार्य गरी कमाइ गर्दै आएकी थिइन्। त्यसै क्रममा संघरसंस्थाले सञ्चालन गर्ने सिलाइकटाइ तालिममा सुरूमा सहायक प्रशिक्षकका रूपमा काम दिन्थे। ‘त्यसबाट आउने पारिश्रमिकले घरको खर्च चलाउन सहज हुन्थ्यो’, उनले भनिन्, ‘सिलाइकटाइमा एक लेवलको परीक्षा पास गरेपछि प्रमुख प्रशिक्षकका रूपमा नगरपालिकाबाट सञ्चालन हुने तालिममा अब काम पाइन थालेको छ।’

सिलाइकटाइको दोस्रो लेवलको परीक्षा पास गर्ने उनको धोको छ। तालिम सञ्चालन गरेबापत उनले ३० हजारदेखि ४५ हजारसम्म पारिश्रमिक बुझ्ने गरेकी छन्। तालिम दिने कार्यसँगै उनले शुक्लाफाँटा–५ वन समिति बजारमा रु दुई लाख लगानी गरी सिलाइकटाइ गर्ने पसल सञ्चालन गरेकी छन्। पसलमा पैसा तिरेर सिलाइकटाइ सिक्ने आउने गर्दछन्। दैनिक दुई घण्टा सिलाइकटाइ सिक्नेबाट उनले मासिक रूपमा रु एक हजार शुल्क लिने गर्छिन्। दुर्गाको पसलमा अहिले सिलाइकटाइको चार जनाले प्रशिक्षण लिइरहेका छन्।

दुर्गाले कपडा कटिङ गर्ने कार्यसँगै जेन्सले लगाउने कमिज, पाइन्ट, कोट र लेडिजले लगाउने ब्लाउज, पेटिकोट, सलवार, कुर्तालगायत सिलाइ गर्छिन्। भनेकै समयमा कपडा सिलाइ गरी दिने र चाहेकै डिजाइनमा कपडा सिउने भएकाले दुर्गाको पसलप्रति ग्राहकको विश्वास बढ्दो रूपमा रहेको छ।  ‘तालिम सञ्चालन भएका बेला प्रशिक्षकका रूपमा कार्य गर्छु’, उनले भने, ‘बाँकी समय पसलमै कपडा सिउने कार्यमा खर्चिने गर्दछु, कपडा सिलाइ गरेवापत दैनिक रु दुई हजारदेखि रु चार हजारसम्म कमाइ हुन्छ, सिजनमा त्योभन्दा दोब्बर तेब्बर बढी कमाइ हुन्छ।’

परिवारमा एक्लो कमाउने दुर्गा नै हुन्। परिवारको पूरै खर्च उनले नै बहन गर्दै आएकी छन्।  ‘बुवा, आमा र भाइको खर्च मैले नै बेहोर्छु’, उनले भनिन्, ‘शारीरिक अपांगता भएपछि परिवार निकै तनावमा हुन्थे, तालिम लिएर सिलाइकटाइको कार्य गर्न थालेपछि परिवार पूरै खुसी छ, दिनभरि सिलाइ गरेर आएको पैसा आमाको हातमा राखिदिन्छु।’

घरका लागि आवश्यक सामान खरिद गरेर दुर्गाले नै लग्ने गर्छिन्। पसलको भाडा तिरेर बाँकी रकम आमालाई बुझाउने गरेको उनी बताउँछन्। गाउँकै समूहमा भविष्यका लागि दुर्गाले रकम बचत समेत गर्दै आएकी छन्। समूहमा उनको एक लाख रुपैयाँ बढी रकम बचत रहेको छ। विगतको जस्तो अहिले सनवोरा नदीसमेत तर्नुपर्दैन।

नदीमा पक्की पुल निर्माण भएपछि दुर्गा दैनिक घरबाटै सडकमा ट्राइसाइकल गुडाएर सात किलोमिटरको यात्रा तय गर्दै पसलसम्म पुग्छिन्। ‘घाम पानी जे भए पनि दैनिक ट्राइसाइकल गुडाएर पसलमा पुग्छु’, उनले भनिन्, ‘अब बानी नै परिसक्यो, जीवनसँग संघर्ष गर्न सिकेको छु, त्यसैले पसल सञ्चालन गर्न सक्षम भए।’

दुर्गाका बुवा जग्गुराम चौधरी छोरीको संघर्ष देखेर दंग छन्। उनी भन्छन्, ‘शारीरिक अपांगता भएको छोरीले जीवनमा संघर्ष गरी व्यवसायी होला भनेर सोचेका थिएनौं, गरेर देखाएकी छ, यसमै हामी सन्तुष्ट छौं, अपांगता भएपछि यसको भविष्य के होला भनेर सोच्थ्यौं, कमाइ गर्न थालेपछि ढुक्क छौं, अब चिन्ता छैन।’

दुर्गाले एक लेवलको कक्षा पास गरे पनि दुई लेवलको कार्य गर्न समक्ष भएको नगरपालिकाको उद्योग शाखाका प्रमुख धनबहादुर चौधरीले बताए। ‘दोस्रो लेवलको परीक्षामा सहभागी गराउनका लागि प्रयास गर्छौैं’, उनले भने, ‘नगरपालिकाबाट सञ्चालन हुने तालिममा प्रशिक्षकका रूपमा दुर्गालाई नै लिँदै आएका छौं।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार