के हो फिजियोथेरापी, के के छन् फाइदा ?

फिजियोथेरापी गर्दाका फाइदा के के छन् ?

फिजियोथेरापी

आज विश्व फिजियोथेरापी दिवस। आधुनिक स्वास्थ्य विज्ञानमा औषधि सेवन र विभिन्न खालका शल्यक्रियाबाट बिरामीलाई उपचार गरिएको अवस्थामा बिना औषधि सेवन र शल्यक्रियाबिना नै विभिन्न वैकल्पिक विधि अपनाएर बिरामीको उपचार गर्ने पद्धतिलाई फिजियोथेरापी भनेर बुझिन्छ।

यहि कुरालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ र हाम्रो शरीरमा लागेका कतिपय रोग धेरै औषधि खाँदा पनि निको नहुने हुन्छन्। कुनै रोगलाई औषधि भन्दा पनि व्यायाम वा अन्य विधिबाट पनि निको गराउन सकिन्छ। औषधि नखाई व्यायाम गरेर, हातले गर्ने उपचार गरेर, पानीमा गरिने व्यायाम वा विद्युतीय उपकरणको माध्यमबाट पनि उपचार गर्न सकिन्छ। त्यस्तो विधिलाई वा उपचार पद्धतिलाई फिजियोथेरापी भनिन्छ।

फिजियोथेरापी दिवसको पृष्ठभूमि
विभिन्न मांसपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यास वाट विमुख गर्न सक्दछ, यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापीस्ट हरूको सीप अनि अध्ययनको आवश्यकता पर्दछ । यसै आवश्यकतालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ |

सन् १८१३ मा स्विस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन् । त्यस संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात् मालिस, सुधारात्मक व्यायाम अनि अन्य कसरतहरूको सुरुवात गरेको हो |

त्यसपछि सन् १८९४ मा बेलायत मा चार्टर सोसाइटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भनेँ फिजियोथेरापीको प्रथम कलेज भनेँ अमेरिकाको वासिंगटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो । प्रथम विश्वयुद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको सुरुवात भएको हो ।

नेपालमा फिजियोथेरापीको इतिहास
नेपालमा भनेँ फिजियोथेरापीको इतिहास कोट्याउँदा नयाँ चिकित्सा पद्धतिका रूपमा केही दशक अगाडी मात्र केही निजी अस्पतालहरूले औपचारिक सुरुवात गरेको पाइन्छ, सुस्तरी अहिले फिजियोथेरापी का सेवाग्राही र प्रदायकहरू बढ्दै गएका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतिहरू अनि केही भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत फिजियोथेरापी गरिने पाइन्छ । सन् १९८३ मा आईओएम ले फिजियोथेरापीलाई एसएलसी पछिको ३० महिने कोर्सका रूपमा औपचारिक मान्यता दिएको हो । यस क्रममा सन् १९९० सम्म करिब ५० जनाले तालिम लिएको इतिहास हामीले पायौँ तर पूनः सन् १९९० मा फिजियोथेरापी अध्यापन नेपालमा बन्द हुन गयो । तथापि विभिन्न अनौपचारिक तालिम र कार्यगत प्रशिक्षण भएको थियो । सन् २००२ पछि धुलिखेल मेडिकल ईन्सटिट्यूट ले फिजियोथेरापीलाई औपचारिक सुरु गरेको पाइन्छ, यस पछि क्रमशः नेपालमा पनि यस कोर्स अनि सेवा प्रदायक बढ्दै गएका हुन् ।

सशस्त्र द्धन्द पश्चात् विसं २०६३ पछि अगंभंग र घाइते सैन्य दस्ताको पुर्नवास र पूर्नस्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालहरूमा फिजियोथेरापीको प्रयोग अत्यधिक गरिएको पाइन्छ । नेप्टा भनेर नेपाली फिजियोथेरापीस्ट हरूको पेशागत सङ्गठनको उपस्थिति रहेको छ ।

सन् २०२३ को विश्वभरि फिजियोथेरापी दिवसको नारा
Arthritis भन्ने नाराका साथ यस वर्ष विश्वभरि फिजियोथेरापी दिवस मनाइदैछ । गठिया या बाथ रोगका रूपमा चिनिने यस समस्याले विश्वभरि समस्या सृजना गरेको छ । यसका विरुद्धमा जनचेतना फैलाउने र रोकथामका उपायहरू फैलाउने उद्देश्यले सन् २०२३ को यस दिवस केन्द्रित छ । जोर्नीहरूको पिडा र समस्यालाई केन्द्रमा राख्दै यस वर्ष फिजियोथेरापी दिवस को रूपरेखा तयार गरिएको छ ।

फिजियोथेरापी भनेको के हो ?
फिजियोथेरापी व्यापक विषय हो। फिजियोथेरापी भित्र नशारोग, अर्थोपेडिक, स्पोस मेडिसिन, अप्सेन गाइनिक, कम्युनिटी पेडियाक्ट्रीक, कार्डियो गरेर विभिन्न विशेषज्ञ हुन्छन्। फिजियोथेरापीले शरीरका अंगहरू मजबुत बनाउँछ। हृदयको चाल र फोक्सोको क्षमता अभिवृद्धि गर्छ ।

फिजियोथेरापी भित्र नशा रोग, अर्थोपेडिक, स्पोस मेडिसिन, अप्सेन गाइनिक, कम्युनिटी पेडियाक्ट्रिक, कार्डियोका विभिन्न विशेषज्ञ हुन्छन्। उनीहरूको सहकार्यमा नै यो उपचार विधि अपनाइन्छ। रोग निको बनाउन मात्रै होइन रोग नै रोकथामको लागि फिजियोथेरापीले मद्दत गर्छ। हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशीको दुखाइ, शरीर झमझमाउने, लुलो हुने, पोल्ने, प्यारालाइसिस, पक्षाघात जस्ता समस्याको लागि यो उपचारविधि औषधिभन्दा प्रभावकारी मानिन्छ।

फिजियोथेरापी कस्तो अवस्थामा गर्ने ?
बालबालिकादेखि वृद्धवृद्धा सबै समूहका व्यक्तिका लागि फिजियोथेरापी प्रभावकारी बनेको छ । ढाड, कम्मर, गर्दन दुख्दा, हाड जोर्नी तथा नसासम्बन्धी समस्या, प्यारालाइसिससम्बन्धी समस्या, श्वासप्रश्वासको समस्या, मांसपेशीसम्बन्धी समस्या, आङ खसेको समस्या, जन्मजात देखिएका समस्या, प्रजनन तथा स्त्री रोगसम्बन्धी समस्या, कुनै दुर्घटनामा चोटपटक लाग्दा, अपांगतासम्बन्धी समस्यालगायतमा फिजियोथेरापी गर्न सकिन्छ।

सानो बच्चालाई पेडियाट्रिक फिजियोथेरापिस्टले हाडजोर्नी नशा सम्बन्धी समस्या छ भने फिजियोथेरापी गराउन सकिन्छ। मेडिसिन, न्युरो, कार्डियोमा पनि उपयोगी बनेको छ । प्यारालाइसिस, विभिन्न प्रकारको बाथका बिरामी, ढाड मर्किने, सड्किने, घुँडा दुख्ने, हड्डी खिइएका बिरामीलाई पनि फिजियोबाट उपचार गर्न सकिन्छ।

फिजियोथेरापी गर्दाका फाइदा के के छन् ?
फिजियोथेरापी गर्दाका फाइदाहरु धेरै छन्। जसमा यस विधिबाट उपचारपछि शरीरमा कुनै पनि नकारात्मक असर वा साइड इफेक्ट हुँदैन। किनकी यो बिना औषधिको प्रयोगले नै स्वास्थ्य समस्याबाट मुक्ति मिल्छ।

रोगसँग लड्ने क्षमता बढाइ सरुवा रोगको जोखिम घटाउनमा मद्दत गर्छ। फिजियोथेरापीले लामो समय अफिसमा एकै ठाउँमा बसेर काम गर्दा शरीरका विभिन्न भागको दुखाइ कम गर्न र शरीरका अंगहरू मजबुत बनाउँछ । फिजियोथेरापी गर्दा शरीरलाई स्वस्थ भएको महसुस हुने र मानसिक स्वास्थ्य सुधार हुने र आत्मबल बढ्ने हुन्छ।

प्रजनन तथा स्त्रीरोगसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्दछ। शारीरिक दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन मद्दत गर्छ। कसैलाई ब्रेन स्ट्रोक भएको छ भने केही समय मात्र फिजियोथेरापी गरेपछि म्याक्सिमम रिकोभरी हुन्छ। सुगर र प्रेसर जस्ता दीर्घ रोग लाई बिग्रन नदिई मेन्टेन गरी बिरामीको शारीरिक क्षमतामा वृद्धि गर्छ।

जन्मजात अपाङ्गता भएका वा अशक्तता कम गरी स्वतन्त्र जीवनशैली तथा कार्यशैलीमा फर्काउन महत्त्वपूर्ण भूमिका खेल्छ। ढाड, कम्मर, गर्दन दुख्दा वा हाडजोर्नी तथा नसासम्बन्धी समस्या भएमा वा प्यारालाइसिससम्बन्धी समस्यालाई पनि कम गर्न मद्दत गर्छ।

शरीरमा कुनै पनि समस्या आउन नदिन के के कुरामा ध्यान दिने त ?
यसको लागि कुनै पनि समस्या आउन नदिन नियमित व्यायाम गर्नुपर्ने, दैनिक रुपमा बिहान आधा वा एक घन्टा हिँड्ने र धेरै औषधि खाँदा पनि निको नभएको कुनै रोग छ भने फिजियोथेरापिस्टसँग एक पटक सम्पर्क गर्नुपर्छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार