धनगढी : कैलालीको टीकापुरमा प्रहरीले अवैध मेडिकलमा छापा हानेको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ मा अवैध रुपमा सञ्चालित एक मेडिकलमा प्रहरीले छापा हानेको हो ।
टीकापुर–खक्रौला सडकखण्डमा रहेको न्यू आलोक ट्रेडर्सको भित्रपट्टी अवैध रुपमा सञ्चालित मेडिकलमा प्रहरीले छापा हानेको नेपाल प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरले जनाएको छ। नेपाल प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरको टोलीले स्थानीय ४७ वर्षीय दुर्गाप्रसाद कुश्मीले सञ्चालन गरेको मेडिकलमा छापा हानेको जनाएको छ। मेडिकलको बाहिर न्यू आलोक ट्रेडर्सका नाममा मदिरा,किराना पसल सञ्चालनमा छन् ।
मेडिकल दर्ता नभएको प्रहरीको दाबी छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले अवैध रुपमा सञ्चालनमा आएको मेडिकलमा प्रदेश प्रहरीको टोलीले छापा हानेको र मेडिकललाई सिज गरेर सञ्चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताए।