SKIP THIS

S.P.A  Collage

‘मैले नाम लेख्न जान्नु नै मेरो बाआमाका लागि ठूलो कुरा थियो’

‘मैले नाम लेख्न जान्नु नै मेरो बाआमाका लागि ठूलो कुरा थियो’

सुर्खेत : उपचारका गर्न नबालक छोरालाई अस्पताल लिएर गएकी आमासँग अस्पतालले बचाउन नसकेको सुनाउँछ। आमाले अस्पतालका मान्छेले भनेको कुरामा कुनैपनि प्रतिक्रिया दिन्नन्। जिल्ला अस्पतालमा मरेका छोरालाई काखमा च्यापेर घर जाने उकालो लाग्छिन्। उकालो काटेर घरनजिकै पुगेपछि एक्लैले जमिनमा गाड्छिन् र मनभरि बह र निराशाको भारी बोकेर घर पुग्छिन्।

घर पुगेपछि उनकी सासुआमाले नाती बचाउन अस्पताल गएकी बुहारी रित्तै फर्किएको देख्छिन्। हौसला दिँदै भन्छिन्– चिन्ता नगर्, यो जस्तै छोरा फेरि जन्मिन्छ, तेरो भरोसा टुट्दैन।

पुत्रशोक भुल्दै सामान्य जीवन विताईरहेकी उनको कोखबाट त्यसपछिको सन्तानको रुपमा पनि छोरा नै जन्मिन्छन्। ती छोरा हुर्कँदै गए। साधारण लेखपढ गर्न नजान्ने बुवाआमा उनलाई पढाउन जरुरी ठान्छन्। गाउँदेखि सदरमुकामका विद्यालयसम्म जेनतेन गरेर एसएलसीसम्म पढाउँछन्। त्यसपछिको शिक्षा पूरा गर्न छोराले आफैंले मेहनत गर्छन्। आफ्नो जीवनमा उनी देश–विदेशमा पुगेर सामाजिक अभियानताका रुपमा सक्रिय भएर काम गर्छन्।

उनी हुन् जाजरकोटका नरबहादुर कार्की। वीरेन्द्रनगरमा भईरहेको कर्णाली उत्सवको पाँचौ संस्करणको पहिलो दिन उनले आफ्नो कथा सुनाए। उत्सव आयोजकले उनलाई कर्णालीको पैकेलो (हिरो) का रुपमा आफ्नो कथा सुनाउन भनेको थियो।
‘मलाई आमाबुवाले पढाउन जरुरी ठान्नुभयो, बुवा गोठालो हुनुहुन्थ्यो, उहाँले गोठालाको छोरा पनि पढोस् न त भनेर ठान्नुभयो र मलाई पढाउनुभयो,’ उनले आफ्नो कथाको सुरुआतीमा सुनाए, ‘बाबा र आमा दुवैलाई नाम लेख्न आउँथेन, म जान्दथेँ, त्यही नै मेरा बाबाआमाका लागि ठूलो कुरा थियो।’

सदरमुकामको विद्यालयमा एसएलसी पढ्दै गरेका उनी घरमा भएका बेला साथीभाईसँग घट्ट गए। त्यतिबेला साथीभाईहरुले पैसा कमाउन कालापहाड जानुपर्छ भनेर कुरा गरे। नरबहादुर पनि साथीभाईको लहडमा लागेर भारत जाने कुरामा सहमत भए।
उनीहरु घट्टबाट घर नफर्किएर भारततिर सोझिए। रुपैडिहादेखि सुरु हुने भारतका सडकहरुमा कतै बस, कतै रेल चढ्दै कमाउन सकिने गन्तव्यसम्म उनीहरु पुगे। भारतमा ६ महिना काम गरेपछि उनको हातमा ३ हजार ३०० भारु प¥यो।
‘त्यतिबेला धेरै पैसा कमाउनुपर्छ भन्ने लाग्यो, फर्किएर रुपैडिहामा भारु साटेर नेपाली लिँदा मैंले १० र २० का नोट मागेर ल्याएँ। किन भने मैंले गाउँमा फर्किएर धेरै पैसा देखाउनु थियो।’ उनले आफ्नो विगत सुनाउँदै भने।

भारतबाट फर्किएपछि नरबहादुरलाई फेरि पढ्नुपर्छ भन्ने लाग्यो। एसएलसी पास गरेपछि उनी तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा आए। सँगै पढ्ने साथीहरुसँग पैसा थियो, उनीहरु डेरा लिएर सुर्खेतमा बस्थे। नरबहादुरसँग थिएन, उनले बसपार्कमा खरको छाप्रो बनाएर बसे।

‘भेरी नदीको छेउमा गएर खर ल्याएँ, बसपार्कनजिक छाप्रो बनाएँ,’ उनले सुनाए, ‘बिहान बेलुका जेरी र समोसा बनाएर बेचेँ, दिनभर पढ्थेँ। मैंले त्यो बेला समोसा कसरी बनाउने, कसरी बेच्ने, गाडी चालकलाई ग्राहकका रुपमा कसरी खुशी बनाउने भनेर अर्को शिक्षा सिकेँ।’

उनी त्यही जुगाडमा आफ्नो अध्ययन उद्देश्य पूरा गर्दै थिए। बीचमा नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्ने योजना ल्यायो। नरबहादुरले छाप्रा हटाउन आएका डोजरको प्रतिकार गरे। मेयरलाई आफ्नो समस्या राखे। तत्कालिन मेयरले उनका समस्या बुझे र त्यही जुगाडमा बसेर पढ्न दिए।

अध्ययन जीवनमा उनी हरेक समस्यासँग जुधे। समस्या समाधान भएपछि जीवनको सुरुआत् हुन्छ भन्ने अपेक्षा राखिरहे। आफूले सोचेको जस्तो जीवनको सुरुआत् भने कहिल्यै नभएको उनी बताउँछन्।

‘सानोमा ठूलो भएपछि जिन्दगी सुरु होला भन्ने लाग्थ्यो, थोरै पढेको थिएँ, धेरै पढेपछि जीवन सुरु होला भन्ने लाग्थ्यो,’ उनले भने, ‘विभिन्न समस्या आउँथ्यो, समाधान भएपछि जीवन सुरु होला भन्ने लाग्थ्यो, तर कहिल्यै सोचेको जस्तो जीवन सुरु भएन, जीवनमा संघर्ष गरिरहनुप¥यो।’

उनले जीवनमा आफ्ना लागि मात्र संघर्ष गरेनन्। समाजका लागि अभियान चलाए। उनले जीवनमा मातृ स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गरे। कुनैबेला नेपाल सरकारले दूरदराजका गाउँमा एक हजार ४०० वटा बर्थिङ सेन्टर बनाउन अभियान चलाएको थियो। त्यो अभियानमा उनी पनि एक मुख्य अभियानतामध्येका थिए। उनीपनि अभियानका क्रममा दूरदराज पुगे र सरकारको उद्देश्य प्राप्तीमा भूमिका निर्वाह गरे।

जीवन प्रशिक्षकका रुपमा पहिचान बनाएका नरबहादुरले नेपाललाई पूर्ण खोपयुक्त बनाउने अभियान पनि चलाए।
सामाजिक कार्य गर्दैगर्दा उनी युद्धले जर्जर बनाएका अफगानिस्तान, इराक लगायत देशका विभिन्न वस्तीहरुमा पुगेर पनि काम गरे।

नरबहादुर भन्छन्, ‘मेरो अभियानका क्रममा कर्णालीवासीले दिएका साथ र माया मेरा प्रेरणाका स्रोतहरु हुन्।’
नरबहादुर आफूसँग नभएको भन्दा पनि भएका कुराहरुलाई हेरेर खुशी हुन सुझाउँछन्। जीवन चुचुरोमा पुग्ने खेल हो भन्ने उनलाई लाग्दैन।

‘मैले जीवनमा सिकेको कुरा भनेको जीवनको ढाँचा बदल्न सकिन्छ, हाम्रो जीवनमा एउटै कथा रहँदैन, बदल्न पनि सक्छौं,’ उनी भन्छन्, ‘जीवन कुनै चुचुरोमा पुग्ने खेल होइन, जीवन त्यो पहाडमा चढ्ने खेल हो, जसको कुनै चुचुरो नै हुँदैन।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार