धनगढी : धनगढी उप-महानगरपालिका–१, पशुपति टोलमा मङ्सिर २२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सव २०८१ मा १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित यो महोत्सवको यो १८ औँ संस्करण हो।
महोत्सवका लागि पाँच सय स्टल निर्माण गरिएका छन्, जसमा ९५ प्रतिशतभन्दा बढी बुक भइसकेको आयोजकको भनाइ छ। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार, महोत्सवले व्यापार, कृषि, र उद्योगको प्रवर्धनसँगै कला र संस्कृतिको संरक्षणलाई प्राथमिकता दिएको छ।
“हाम्रो तयारी ७० प्रतिशत पूरा भइसकेको छ। महोत्सवले स्थानीय व्यवसाय र राष्ट्रिय स्तरका उत्पादनहरूको प्रवर्धनमा टेवा पुर्याउनेछ,”
अध्यक्ष कुँवरले पत्रकार सम्मेलनमा बताए।
- महोत्सवका विशेषताहरू:
महोत्सवमा स्थानीय परिकार, थारू संस्कृति, र कृषि प्रदर्शनी विशेष आकर्षणका रूपमा रहनेछन्। थारू गाउँको झल्को दिने संरचनाले आगन्तुकहरूलाई स्थानीय जीवनशैली र परम्परा नजिकबाट अनुभव गराउनेछ।
पाँच लाख अवलोकनकर्ताले महोत्सवमा सहभागिता जनाउने अपेक्षा गरिएको छ। महोत्सवको व्यवस्थापनका लागि २९ वटा उप–समितिहरू गठन गरिएको छ।
- प्रधानमन्त्रीको सम्भावित उपस्थिति:
सरकार प्रमुखले उद्घाटन गर्दै आएको यो महोत्सवमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली आउने/नआउने विषयमा भने अन्योल कायम छ। प्रधानमन्त्री ओली मङ्सिर २१ गते चीन भ्रमणबाट फर्किने कार्यक्रम रहेकाले निर्णय लिन बाँकी रहेको अध्यक्ष कुँवरले जनाएका छन्।
- सामाजिक योगदान र सहुलियत
महोत्सवमा अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकका लागि प्रवेश निःशुल्क गरिएको छ। विद्यार्थीहरूका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँको टिकट तोकिएको छ।
महोत्सवबाट संकलित टिकट आम्दानीको केही हिस्सा सामाजिक कार्यका लागि प्रयोग गरिनेछ। प्रति टिकट २ रुपैयाँ महिलाको आर्थिक र सामाजिक सशक्तीकरणका लागि । ५ रुपैयाँ विपद् व्यवस्थापन कोषका लागि। १ रुपैयाँ लागुऔषध दुर्व्यसनविरुद्ध अभियानका लागि छुट्याइएको आयोजकले जानकारी दिएको छ।
- व्यवसाय, संस्कृति र पर्यटनको संगम:
धनगढीमा प्रत्येक वर्ष आयोजना हुने सुदूरपश्चिम महोत्सवले स्थानीय उत्पादन, कला, र संस्कृतिलाई प्रवर्धन गर्दै देशभरका व्यवसाय र आगन्तुकहरूलाई आकर्षित गर्ने गरेको छ। यो महोत्सवले क्षेत्रीय विकास र पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
- महोत्सव आयोजना हुने मिति
महोत्सव आयोजना हुने मिति मिति: मङ्सिर २२ देखि
स्थान: धनगढी उपमहानगरपालिका–१, पशुपति टोल
महोत्सव अवधि भर हरेदिन बिहान १० बजे देखी साँझ ७ बजे सम्म
आयोजक: कैलाली उद्योग वाणिज्य संघ